सुनसरी: लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई इटहरीका गाँउ गाँउमा विकेन्द्रित गरिएको छ ।
अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किसोरी साथी समूह, प्रतिरक्षा समूह र महिला संजालसँग वडा वडामा अन्तरक्रिया भइरहेको छ । इटहरीका वडाहरुमा ६३ वटा किसोरी साथी समूह र २० वटा प्रतिरक्षा समूह सकृय छन् । यही क्रममा आज वडा नम्वर १९ र २० मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वडामा लैगिंक हिंसाको अवस्था र चुनौतीको बारेमा अन्तरक्रिया भएको थियो भने साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य, समस्या लगायतका बिषयमा पनि अन्तरक्रिया भएको थियो । २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना वनाइने उपप्रमुख गौतमले बताइन् । खुल्ला ठाँउमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सवै उपाय अवलम्वन गरेर कार्यक्रम आयोजना भइरहेको उनले बताइन् । अन्तरक्रिया कार्यक्रम मंसिर १२ देखि २३ गतेसम्म आयोजना हुनेछ ।
अपांङ्गता भएकाहरु, वालवालिका र जेष्ठ नागरिकका लागि छुटटा छुटटै कार्यक्रमहरु तय गरिएको उपमहानगरले जनाएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा टोल टोलमा पुग्ने गरि४० वढि कार्यक्रम आयोजना गरिने छन् । उपप्रमुख गौतमले भनिन्,“कोरोना छ भनेर चुप लागेर वस्नुहुदैन, धेरै जना भेला भएर ठूलो कार्यक्रम गर्न नभए पनि ससाना कार्यक्रम बनाएका छौ, वडा वडा टोल टोलमा गएर सानो सानो समूहमा कार्यक्रम गरिर अभियानलाई विगत वर्ष भन्दा अझ ब्यापक वनाउदै छौ ।'
अभियानका क्रममा न्यायिक समिति संयोजकसमेत रहेकी उपमेयर गौतम, न्यायिक समिति सदस्यहरु, महिला सदस्यहरु, महिला संजाल सहित सवै वडाका टोल टोलमा पुगेर अन्तरक्रिया भइरहेको छ । अभियानका क्रममा न्यायिक समितिले गर्ने कार्यहरु उल्लेख गरेर १५ हजार व्रोसर पनि वितरण भइरहेको छ । ब्रोसरले हिंसामा परेमा के गर्ने ? कहाँ जाने भन्ने प्रष्ट जानकारी हुने उपप्रमुख गौतमले बताइन् ।