धरान: पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि १ नम्बर प्रदेशमा ३ जनाको ज्यान गएको छ ।
इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार मोरङको उर्लाबारी नगरपालिका ८ स्थित गुरुङ टोलमा इटहरा-उर्लाबारी भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । हिजो बिहान ८ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक ३० बर्षीय उपेन्द्र दनुवारसहित २ जना घाइते भएका थिए । दुवैलाई उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाएकोमा उपचारको क्रममा मोटरसाइकलको पछाडि सवार पछाडी सवार रहेका तेह्रथुम म्याङलुङ-९ का ४५ बर्षीय श्याम तामाङको मृत्यु भएको थियो । मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका ५ स्थित भित्रि सडकखण्डमा प्रदेश १-०१-०१२ प ७१५४ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको को १ क १५८७ नम्बरको जेसिबि एकापसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । दुर्घटना हिजो साँझ साँढे ५ बजे भएको हो । मोटरसाइकल चालक ३५ बर्षीय दिपककुमार बुढाथोकीलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । जिसिबि चालक ४२ बर्षीय सुदिप खनाल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसैगरि, मोरङको सुन्दरहरैचा नगरपालिका ९ चाँदनी पेट्रोलपम्प अघि पुर्वपश्चिम लोकमार्गमा विपरीत दिशाबाट आइरहेको स्कुटर र ट्याक्टर एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु भएको छ । को ३८ प १६६५ नम्बरको स्कुटर र को २ त ३१९६ नम्बरको ट्याक्टर राती साढे ९ बजे ठोक्किएको थियो । ट्राफिक प्रहरीका अनुसार गम्भीर घाइते भएका स्कुटर चालक मकेश्वर चौधरीलाई उपचारको लागि न्युरो अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा राती १० बजेर ५ मिनेटमा मृत्यु भएको थियो । दुवै सवारी इलाका प्रहरी कार्यालय विराटचोकको नियन्त्रणमा छ भने ट्याक्टर चालक तत्काल फरार छन् ।