धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ सेवा पनि सुचारु गर्ने भएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले एक सुचाना जारी गर्दै आज (आइतबार)देखि पेइङ सेवा सुचारु गर्ने जनाएका छन् । कोरोना महामारी र लकडाउन पछि प्रतिष्ठानले पेइङ सेवा पनि बन्द गरेको थियो । प्रतिष्ठानका चिकित्सकहरुले कुनै पनि समय अन्यत्र निजी स्वास्थ्य संस्थाहरुमा प्राक्टिस गर्न(काम) नपाउने प्रावधान छ । त्यसैले चिकित्सकहरुलाई प्रतिष्ठानमा रहने वातावरण बनाउन र विरामीहरुलाई पनि बिशेषज्ञ सेवा उपलब्ध गराउन पेइङ सेवा पनि सञ्चालन गरेको हो । पेइङबाट हुने आम्दानी प्रतिष्ठान र सम्बन्धित चिकित्सकले प्रतिशतको आधारमा लैजाने गरेको छ ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.प्रमोद वरालले प्रोटोकल अनुसार गर्दै कोभिडको सामना गरेर अघि बढ्नुको विकल्प नभएकोले सबै सेवाहरु सोही वमोजिम सुचारु गरिएको बताए । ‘कोभिड भन्दा अघि जुन सेवाहरु थियो, ती सबैलाई सुचारु गरेका छौं । ओपिडी, रुटिन ओटी खोलिसकेका छौं, अब पेइङ पनि सुचारु गर्ने निर्णय भएको हो,’डा.वरालले भने,‘यद्यपी कोभिडले गर्दा केही असहजताहरु बाँकी नै छ ।’

डा.वरालका अनुसार कोभिड संक्रमणको जोखिम कायमै भएकोले ओपिडीमा दुरी कायम गर्दै एक एक जना विरामी प्रवेश गराउदा, ल्याबमा पनि दुरी कायम गराउदा केही ढिलाई हुन्छ । यस्तै, अप्रेशन अघि पनि विरामीको पिसिआर गराउनुपर्ने हुन्छ । त्यसो नगरे स्वास्थ्यकर्मी र अन्यलाई पनि संक्रमण भएर सेवा अवरुद्ध हुनसक्ने भएकोले पिसिआर गर्नुपर्ने डा.वरालले बताए । ‘कोभिडलाई चाहिने प्रोटोकल पुरा गर्नुपर्ने हुन्छ । तर विरामी र वीपी प्रतिष्ठानकै आवश्यकताले गर्दा सेवा बन्द गर्नुभन्दा सामना गर्दै जानुपर्छ,’उनले भने ।

paying