धरान: हत्या अभियोगमा अदालतबाट २० बर्ष कैद सजाय पाएका एक अभियुक्त १३ बर्षपछि पक्राउ परेका छन् ।
सुनसरीको साविक एकम्बा गाविसमा २०६४ सालमा भएको हत्या घटनाका फरार प्रतिवादी ३२ बर्षीय कृष्णराज धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मोरङको उर्लाबारी नगरपालिका ५ बाट शुक्रबार पक्राउ गरेको जनाएको छ । रामधुनी ६, सुनसरी घर भएका धामी उर्लाबारीमा डेरा गरि बसिरहेका थिए । अदालतले उनीसहित ५ जना प्रतिवादीहरुलाई कैद सजाय फैसला गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्याल्य सुनसरीका अनुसार जिल्ला अदालत सुनसरीले २०७१ साउन २९ गते मुद्दाको फैसला गर्दै २० बर्ष कैद सजाय सुनाएको थियो । घटना पछि धामी फरार थिए ।
पक्राउ परेका धामीलाई हाल अदालतको आदेश वमोमिज कैद भुक्तानको लागि झुम्कास्थित कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका अभियुक्त टाईसन भन्ने निङमा दोर्जी शेर्पालाई प्रहरीले गत साउन २६ गते रामधुनीबाट पक्राउ गरेको थियो भने तुलसी चौधरीलाई धनुषाको ढल्केवरबाट पछ्याउदै आएर इनरुवा ४ बस स्टेण्डबाट प्रक्राउ गरेको थियो । उनीहरुलाई पनि प्रहरीले जिल्ला अदालत सुनसरीमा उपस्थित गराएर अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाएको थियो ।
२०६४ बौख २८ गते शुक्रबार राती साथीको विवाहमा जन्ती गएको बेला कृष्णसहितको समुहले साविक एकम्बा गाविस ४ का सुरेन कुमार ठाकुरलाई छुरा प्रहार गरेका थिए । बेहुलीको घरमा स्वयंवरको बेला ठाकुर अगाडि उभिएको निहुमा झगडा भएको थियो । ठाकुर स्वयंवर स्थलबाट बाहिर निस्केर बसिरहेको बेला कृष्णसहित ५ जनाले हातमा समातेर विवाह घर नजिकै छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । ठाकुरको मृत्यु भएपछि उनको बुबाले ईलाका प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए ।