धरान: सुगरकी विरामी थिइन्, धरान १३ भृकुटी मार्गकी आशा राई । उनको घरको आर्थिक अवस्था पनि ज्यादै कमजोर ।
उनको देब्रे हातमा सानो घाउ आयो । उनले त्यसलाई कोट्याइन् । सुगरको विरामी भएकोले घाउलाई कोट्याउनु उनको लागि अभिसाप नै भइदियो । उनले कोट्याएपछि देब्रे हात भित्रभित्रै पाकीसकेको रहेछ । आर्थिक अवस्था दयनीय भएको परिवारको लागि यो भन्दा टिठलाग्दो अवस्था के होला ? उनी वडा कार्यालय पुगिन् । वडाअध्यक्ष नेत्र काफ्लेले सम्पर्क गरेर विजयपुर हस्पिटलमा उपचारको लागि पठाए ।
विजयपुरका डाक्टरले अप्रेशन गर्नुपर्छ भनेर राईलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिदिए । वडाअध्यक्ष काफ्लेले पैसा खोजेर उनलाई प्रतिष्ठान पठाएका थिए । उनको हातको अप्रेसन पनि भयो । तर, औषधीमा लाग्ने खर्च बढ्दै गयो । मेडिकलमा बाँकी नै ४० हजार पुगेपछि उनी आत्तिइन् । उपचार पुर्ण नभई नै जर्बजस्ती आफै डिस्चार्ज मागेर घर फर्किइन् । ‘घरको आर्थिक अवस्था ज्यादै कमजोर छ, त्यसैले खर्च अझै धेरै हुने भयो भनेर जर्बजस्ती आफै डिस्चार्ज लिएर आउनु भएछ,’अध्यक्ष काफ्लेले भने,‘वडाको तर्फबाट केही सहयोग गरेका छौं, अझै के कसरी सहयोग गर्ने भनेर छलफल गर्दैछौं ।’
विरामी राई आफै डिस्चार्ज भएर घर आएको र अप्रेसन गरेको हात झन् समस्या भएको थाह पाएपछि वडाअध्यक्ष काफ्ले भेट्न गएका थिए । अध्यक्ष काफ्लेले वडाबाट नै ड्रेसिङ गर्ने व्यवस्था गरिदिएका छन् । परिवारको अवस्था बुझेर वडाअध्यक्ष काफ्लेले शनिबार वडा कार्यालयकोतर्फबाट ५ हजार सहयोग गरेका छन् । वडाले स्थापना गरेको ज्येष्ठ तथा असक्त, असहाय कोषबाट सहयोग गरेको उनले बताए ।
वीपी प्रतिष्ठान अघिको मेडिकलमा औषधीको बाँकी पैसा छोराले एक सातामा तिर्ने सर्तमा ऋण लिएर तिरिदिए । उनले दिएको एक साताको भाका पनि सकिन लाग्यो । कक्षा १२ पढ्दै गरेका छोरा गरिबीकै कारण ग्रिलमा काम गर्दै छन् । उनको पनि ग्रीलमा हात काटेर अहिले घाइते छन् । श्रीमान् मजदुरी काम गर्छन् । कहिले काम हुन्छ, कहिले हुदैन ।
घरमा नै बसिरहेकी राईको घाउ वडाका स्वास्थ्यकर्मी ड्रेसिङ गरिरहेका छन्, तर अस्पतालमा जस्तो सुरक्षित नहुने भएकोले इन्फेक्सन हुने डर भएको स्वास्थ्यकर्मी दिपा राईले बताइन् । ‘हस्पिटलमा धेरै सुरक्षित हुन्छ, इन्फेक्सनको डर पनि हुदैन । उहाँलाई हस्पिटलमा नै राखेर उपचार गर्न पाए धेरै राम्रो हुन्थ्यो,’उनले भनिन्,‘अस्पताल किन नबसेको भन्दा पैसा छैन भन्नुहुन्छ, अवस्था साह्रो विजोग छ ।’