सुनसरी: तरहरा जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ ।
तरहरा जेसीजको सप्ताह कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले अहिले देशमा रगतको चरम अभाव रहेकाले रक्तदान कार्यक्रमको आयोजना गर्नु अनुकरणीय रहेको बताए । ‘पछिल्लो समय विभिन्न अस्पतालमा रगतको चरम अभाव रहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गर्नु महत्वपूर्ण काम हो,’ उनले भने । सो कार्यक्रममा शर्माले रक्तदान गरि कार्यक्रमको उद्घाटन समेत गरेका थिए ।
तरहरा जेसीजका उपाध्यक्ष विवेक विवश रेग्मीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्थानीय सामाजिक संस्था लिवरल सोसाइटीले कार्यक्रम प्राङ्गणमा सेनिटाइज समेत गरेको थियो । तरहरा जेसीजका अध्यक्ष सुनिल तिम्सिनाले पछिल्लो समय विभिन्न ठाउँबाट रगतको अभाव रहेको सूचनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । सोही कार्यक्रमको अवसर पारेर डस्बिन समेत वितरण गरिएको थियो । तरहरा जेसीजका जनसम्पर्क अधिकारी रमेश विकको संयोजकत्वमा तरहरा बजार क्षेत्रमा डस्बिन राखिएको थियो । साथै, शनिबार तरहरा फुटसलमा सचिव उत्तम गिरीको संयोजकत्वमा मैत्रीपूर्ण फुटसलको आयोजना समेत गरिएको थियो ।