धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनले आन्दोलनरत इन्टर्न चिकित्सकहरुसँग वार्ता गर्न समिति गठन गरेको छ ।

प्रतिष्ठानले गठन गरेको वार्ता समितिमा अस्पताल सहायक निर्देशक डा.प्रमोद वराल, डिन डा.सिवेन्द्र झा र एसिस्टेष्ट डिन डा.अजय यादव रहेका छन् । व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेपछि आन्दोलनरत इन्टर्नहरुले पनि ८ सदस्यीय वार्ता समिति गठन गरेका थिए । दुवै वार्ता समितिबीच आज(आइतबार) दिउँसो वार्ता भएको थियो । इन्टर्नहरुको अधिकांश मागको बिषयमा सकरात्मक भएपनि जीवन निर्वाह भत्तामा सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहिन भएको इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीले जानकारी लिए ।

संयोजक जैसीका अनुसार ११ बुँदा मागहरुमध्ये अधिकांशमा प्रतिष्ठान लचक भएको थियो । तर, जीवन निर्वाह भत्ता नेपाल सरकारको ८ औं तहको ५० प्रतिशत हुनुपर्ने मागमा सहमति जुट्न नसकेको जैसीले बताए । ‘अरु मागहरुमा व्यवस्थापन पक्ष लचक नै भयो तर जीवन निर्वाह भत्तामा कुरा मिलेन,’जैसीले भने,‘वार्ता सकरात्मक नै छ, भोली दुवैतर्फले लचकता अपनाउदा सहमति हुनसक्छ ।’

इन्टर्नहरुको माग अनुसार सरकारको ८ औं तहको ५० प्रतिशत जीवन निर्वाह भत्ता दिदा वीपीका इन्टर्नहरुले २० हजार रुपैया पाउँछन् । अहिले वीपीका इन्टर्नहरुले पाउदै आएको भत्ता १५ हजार मात्र छ । प्रतिष्ठान आर्थिक संकटमा भएकोले माग वमोजिम भत्ता दिन नसकिने व्यवस्थापन पक्षले जनाएको छ । वार्ताको क्रममा प्रतिष्ठानले १७ हजार दिने प्रस्ताव गरेको छ । यसअघि आइओएम सरह जीव्न निर्वाह भत्ता दिने सहमति भएको थियो । त्यसअनुसार १८ हजार हाराहारी हुन्छ । तर, प्रतिष्ठानले उक्त सहमति कार्यान्वयन नगरी १५ हजार मात्र दिदै आइरहेको छ ।