विराटनगर: विराटनगर ४ स्थित कञ्चनबारीमा पर्ने कोशी राजमार्गमा विरामी बोकेको एम्बुलेस र भारतीय लहरी ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

बिग्रिएर सडकमा रोकि राखेको एनएल ०१ एल ०३३६ नम्बरको लहरीमा सप्तरीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स ठोक्किएको प्रहरीले जनाएको छ । यो दुर्घटना राती १ बजे भएको हो । उक्त एम्बुलेन्स दमले च्यापेको विरामी बोकेर सप्तरीबाट विराटनगर आइरहेको थियो । सडकमा रोकेर राखेको लहरीमा पछाडिबाट एम्बुलेन्स ठोक्किएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

एसपी खड्का अनुसार एम्बुलेन्समा रहेका विरामी सप्तरीको तिलाठी कोइलाडी -२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । एम्बुलेन्स क्षतिग्रस्त भएको छ । मृतकको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, दुर्घटनामा घाइते भएका तिलाठी कोइलाडीका ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलीदेवी मण्डलको नोबेलमा उपचार भइरहेको छ ।
एम्बुलेन्स चालक हरिनारायण यादव भने फरार छन् । उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।