सुनसरी: पाँच दिनदेखि बेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका २ का युवकको मृत अवस्थामा शव फेला परेको छ ।

नेपाल टेलिकम कार्यालय विराटनगरका अधिकृत सुरेन्द्र नारायण चौधरीको छोरा १७ बर्षीय सुजन नारायण चौधरीको शव फेला परेको हो । उनलाई अपहरण पछि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । चौधरीको शव आज बिहान दुहबी-२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडी भेटिएको थियो । मृतक मसिंर १० गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । शवको टाउको र संवेदनशिल भागमा चोट देखिएकोले हत्या भएको आशंका गरिएको छ ।

मृतक कक्षा ११ मा अध्ययनरत थिए । उनी वेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गरेर धम्की दिएको थियो । त्यसबारे परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मृतक साथीको घरमा जान्छु भनेर घरबाट निस्किएका थिए । रातीसम्म पनि उनी घर नफर्किए पछि भोलीपल्ट खोजी गर्न परिवारले प्रहरीमा निवदेन दिएका थिए । परिवारजनका अनुसार मृतकको मोवाइलमा एक पटक सम्पर्क हुँदा अपहरणकारीले सुजन आफ्नो कब्जामा रहेको भनेको र त्यसपछि मोवाइल स्वीच अफ भएको थियो । सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरिसकेको र यसबारेमा केही बेरमा प्रेस रिलिज गर्ने जनाएको छ ।