धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।
धरान नगरपालिका स्थापना कालका प्रथम निवार्चित उपसभापतिसमेत रहनु भएका वामपन्थी बुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ(बि.ए. कृष्ण)को निधनमा उपमहानगरपालिकाले आज शोक विदा दिएको हो । श्रेष्ठको हिजो दिउँसो धरान १ स्थित निवासमा ८७ बर्षको उमेरमा निधन भएको थियो । आज शोक विदा दिने निर्णय भएकोले अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय र स्वास्थ्य कार्यालयहरु बन्द रहने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । स्वर्गीय श्रेष्ठ धरानका पहिलो कम्युनिष्टकोरुपमा पनि परिचित छन् ।
श्रेष्ठ धरानबाट स्नातक तह(बि.ए.) उतीर्ण गर्ने पहिलो २ जना व्यक्तिमा पनि पर्छन् । श्रेष्ठ र यज्ञप्रसाद आचार्य धरानमा बि।ए।पास गर्ने पहिलो व्यक्तिहरु हुन् । श्रेष्ठले राम्रो डिभिजन ल्याएको र कृष्णप्रसाद नाम गरेका व्यक्तिहरु धेरे भएकोले उनलाई बि.ए.कृष्ण भनेर चिन्न थालिएको थियो । नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालबाट नै राजनीति शुरु गरेपनि पछि श्रेष्ठ कृष्णराज वर्मा समुहमा लागेका थिए । श्रेष्ठले राजनीतिसँगै समाज सेवा र साहित्यमा पनि निरन्तर योगदान दिएका थिए । श्रेष्ठको पार्थिव शरीरको आज अत्येष्टी गरिने भएको छ ।