बिराटनगर: प्रदेशका बिभिन्न स्थानहरुमा हिजो सोमवार भएको सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरका सह-चालकको मृत्यु भएको थियो । प्रहरीका अनुसार सहचालक बुढीगंगा गाउपालिका १ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको थियो । यसैगरी मोरङकै बिराटनगर महानगरपालिका ९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर १५ की ६० बर्षीया मनकामना झा घाईते भएकी थिईन् । उनको न्यूरो अस्पतालमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै झापाको दमक नगरपालिका ४ तारावारीमा सोमवार दिऊँसो सवा १ बजे मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय ८ बर्षीय जेनिस धिमाललाई ठक्कर दिंदा बालक घाईते भएका थिए । घाइते बालकलाई उपचारको लागि अरनिको अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा साँढे १ बजे बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी, ईलामको फाकफोकथुम गाउँपालिका ५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोमवार बेलुका साँढे ५ बजे पाँचथरको रविबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा माई नगरपालिका ९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका ११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।