मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका १ सुकेस्थित छेडी सामुदायिक वनबाट चिरान काठ अवैधरुपमा ट्याक्टरमा लोड गरि तस्करी गर्ने ५ जना पक्राउ परेका छन् ।

उनीहरुलाई आज मध्यराती १२ बजेर ४५ मिनेटमा को १ त ८५५९ नम्बरको ट्याक्टरमा चिरान गरिएको अवैध काठसहित पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा ट्याक्टर चालक एवं साहु मिक्लाजुङ १ सुगुरेका ३६ बर्षीय ईलाख राई, १६ बर्षीय तगिन राई, १८ बर्षीय दम्से राई, १९ बर्षीय सविन राई र १६ बर्षीय विशाल राई रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले पक्राउ गरेका हो । पक्राउ परेका पाँचै जनालाई वरामद भएको चिरान काठ र ट्याक्टरसहित सब डिभिजन वन कार्यालय मधुमल्लामा बुझाइएको मोरङ प्रहरीले जनाएको छ । वरामद चिरान काठ १०३ क्यु.फिट रहेको प्रहरीले जनाएको छ ।