इटहरी: इटहरी वडा नम्वर दुईको तामाङ्ग चौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गरेको छ ।

इटहरी २ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपियाँको चेक हस्तान्तरण गरिन् । तामाङ्ग परिवारका १५ देखि ३० बर्ष सम्मका दुई छोरा र दुई छोरी कोही पनि आँखा देख्न सक्दैनन । कान्छो छोरो वाहेक अरु बोल्न पनि सक्दैनन् । उनीहरु उठेर हिडन र बस्न पनि सक्दैनन् । थोरै मात्र आँखा देख्ने कान्छा छोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गइरहेको छ ।

गत बर्ष पनि चार जना अपांङ्गता भएका छोरा छोरीको भरणपोषणका लागि प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फवाट एकलाख रुपैयाँ घरमा नै पुगेर दिएका थिए । गत बर्ष जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांङ्गता भएको रातो कार्ड वितरण गरिएको थियो । रातो कार्ड प्राप्त गरेपछि उनीहरुले मासिक प्रतिब्यक्ति तीन हजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।

apanga1

इटहरी सरकारले घरमै आएर निरन्तर सहयोग गरेकोमा वुवा लक्ष्मण तामाङ्गले खुशी ब्यक्त गरे । घर आँगनमै सरकार आएको महसुश भएको उनले प्रतिक्रिया दिए । परिवारकी जेठी छोरी अस्मिता सात बर्षसम्म सामान्य नै थिइन् । त्यसपछि विस्तारै आँखा देख्न छाडेकी हुन् । उनी ८ बर्षको हुँदा आँखा पुरै देख्न नसक्ने भइन् भने वेहोस हुने समस्या पनि शुरु भयो । समय बित्दै जादा उनले केही थाह नपाउने भएर ओछ्यानमा थलिइन् । अन्य दुई जना पनि ठ्याक्कै सोही समस्याले गाँज्यो । कान्छा छोराले पनि आँखा देख्न सक्दैनन्, तर हिडडुल गर्न भने सक्छन् ।

यसैबीच, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरद्धारा माया घर इटहरीमा रहेका ४७ जनालाई न्यायो कपडा वितरण गरिएको छ । उपप्रमुख गौतमले मायाँ घर इटहरीमा आश्रय लिएका ब्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेकी हुन् ।