धरान: गाउँघरबाट आएका सोझा व्यक्तिहरुलाई एक मुखे रुद्राक्ष भन्दै भ्रममा पारेर ठगी गर्ने व्यक्ति सक्रिय भएको पाइएको छ ।

भोजपुरबाट आएका एक व्यक्तिले बुधबार एक मुखे भनेर किनेको रुद्राक्ष नक्कली भएको पुष्टि भएपछि ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको हो । पीडित व्यक्तिले इलाका प्रहरी कार्यालय धरानमा बुधबार निवेदन दिइसकेका छन् । प्रहरीले निवेदनबारे आवश्यक अनुसन्धान गर्ने जनाएको छ । पीडित व्यक्ति आफ्नो परिचय खुलाउन चाहदैनन् । उनी भोजपुरबाट काम बिशेषले धरान आएका थिए । बुधबार पकलीबाट धरान आउने क्रममा उनी ठगिएका हुन् । ती अली नामका व्यक्तिले उनीसँग १५ हजार ५ सय रुपैया ठगी गरेका छन् ।

पीडित व्यक्तिका अनुसार उनी पकलीबाट धरान आउने बस पर्खिरहेका थिए । सोही बेला अली नाम बताउने एक व्यक्ति मोटरसाइकलमा आएर उनलाई लिफ्ट दिएका थिए । उनी उक्त व्यक्तिसँग मोटरसाइकलमा धरानतर्फ आउदै गर्दा अलीले आफुसँग भएको रुद्राक्ष र हनुमान, राम, सीता, लक्ष्मण अंकित तामाको सिक्का भएको बताएका थिए । ती अली नाम गरेका व्यक्तिले आफुले धनकुटा घ्युको बट्टामा उक्त एकमुखे रुद्राक्षर र सिक्का भेटेको भन्दै भोजपुरबाट आएका ती व्यक्तिलाई बिक्री गर्न चाहेको बताए । ‘हेर्दा एकमुखे रुद्राक्ष नै लाग्यो । शुरुमा २५ हजार भन्थ्यो, पछि १५ हजार ५ सयमा दियो,’पीडितले भने,‘म त फसि हाले, म जस्तरी नै अरु सोझा सिधा मान्छेहरु नफासुन् ।’

rudrakx

पीडितका अनुसार ती अली नाम गरेकाले आफ्नो घर दुहबी भएको बताएका थिए । उनी आफु खसीबोका व्यापारी भएको र उदयपुरतिर जादै गरेको बताएको पनि पीडितले जानकारी दिए । ‘भोजपुर तिरबाट खसीबोका ल्याएर व्यापार गर्छु भन्थ्यो । धरान आएर पनि उसको मोवाइल नम्बरमा एक पटक सम्पर्क भएको थियो, पछि स्वीच अफ भन्यो,’उनले भने ।

पीडितले धरानका आफ्ना आफन्त (दाजु)लाई रुद्राक्ष र सिक्का किनेको बताए पछि उनका दाजुले रुद्राक्षका जानकार व्यक्तिलाई देखाए । ती व्यक्तिले नक्कली भएको पुष्टि गरिदिए । ‘भाई सोझो, सिधा मान्छे हो । विश्वासमा परेर ठगियो,’पीडितका आफन्त दाजुले भने,‘मेरो भाई जस्तै अरु पनि पहाड गाउँघर, कुनाकाप्चाबाट आएका सोझो मान्छेहरु ठगिन सक्छ । त्यसैले प्रहरीमा निवेदन दिएका छौं, धेरै मानिसहरुलाई यो ठगबारे पनि जानकारी होस् ।’

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले एक मुखे रुद्राक्ष भन्दै ठगी गरेकोबारे निवेदन आएको र आवश्यक अनुसन्धान गरिने बताए । यसअघि पनि एउटा यस्तै प्रकृतिको घटनाबारे निवेदन आएको भन्दै उनले ठगी गर्ने व्यक्तिले मोवाइल नम्बर आफ्नो नचलाउने गरेको पाइएको बताए । ‘पहिलाको घटनामा पनि ट्रेसिङ गर्यौं, तर मोवाइल अर्कैको थियो । ठगले आफ्नो नै चलाउदैन,’उनले भने,‘सायद त्यतिबेलाकै ठग हुन पनि सक्छ । हामी मिहिनढंगले अनुसन्धान गछौं ।’