धरान: आचरण विपरीत कार्य गरेको उजुरी परेको साथै इमान्दारीपुर्वक ड्युटी पुरा नगर्ने ३ जना नगर प्रहरी कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा एक जना असई र २ जना जवान छन् । करार सेवामा रहेका उनीहरुलाई धरान उपमहानगरपालिकाले मंसिरदेखि जागिरबाट निष्काशन गरेको जनाएको छ । पछिल्लो समय पञ्चकन्या जंगल निरीक्षण गर्न पठाएको बेला घुम्न आएका जोडीको फोटो खिचेर बार्गेनिङ गरेको उजुरीसमेत उपमहानगरपालिकामा पुगेको थियो । ‘इमान्दरीपुर्वक ड्युटी नगर्ने, आचरण विपरीत काम गर्ने गरेपछि कारबाही गरिएको हो,’वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले कारबाही पुष्टि गर्दै भने,‘पटक पटक सचेत गरायौं, चेतावनी दियौं, र स्पष्टीकरण सोध्यौ । तर पनि आचरणमा सुधार नभएपछि मंसिरदेखि ३ जनालाई अवकाश दिइएको छ ।’

कारबाहीमा पर्नेमा तीनै जना पुरुष छन् । ड्युटीमा खटाएको बेला झोक चल्दा कुटपिट गरिदिएर अनावश्यक विवाद सृर्जना भएको उपमहानगरको भनाई छ । बिहान ६ बजे पिटीमा उपस्थित हुनुपर्नेमा नआउने, निर्देशन पालना नगर्नेलगायतका अनुशासन र मर्यादा विपरीत कार्यहरु गर्ने गरेका थिए । सेवा प्रवाह भन्दा पनि कार्यालयलाई नै विवादमा फसाउने र समस्या झेल्नुपर्ने अवस्था सृर्जना भएपछि कारबाही गरिएको उपमहानगरले जनाएको छ ।

फोटो खिचेर बार्गेनिङ गरेको उजुरी पनि उपमहानगरमा परेको पुष्टि गर्दै वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले आधिकारिकरुपमा सम्बन्धित व्यक्ति नै सम्पर्कमा आएको जानकारी दिए । ‘उजरी आयो, आधिकारिकरुपमा मान्छे नै आएर फोटो खिचेर बार्गेनिङ गरेको गुनासो गरे,’खतिवडाले भने,‘अनुसन्धान गर्यौं, फोटो खिचेको पत्ता लाग्यो । कार्यालयले कसैको फोटो खिच्न भनेर पठाएको होइन । उनीहरुले बार्गेनिङ चै गरेनौं भने ।’