धरान: धरान १३ स्थित खानेपानी संस्थान नजिकै मदन आश्रित मार्गको एक घरमा हिजो ब्याग चोरी भयो । ब्याग चोरी भएपछि हल्लीखल्ली भयो, र खोजतलास हुन थाल्यो ।

सोही क्रममा एक महिलाले ड्रेनको स्लाब मुनि पोको देखिन् । शंकास्पद वस्तु देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालयको टोली पुगेपछि शंकास्पद पोको निकालेर हेर्दा प्रहरी नै अचम्मित बन्यो । उक्त पोको भित्र अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली थियो । पेस्तोल कसरी त्यहाँ पुग्यो भनेर अहिले धरान प्रहरी अनुसन्धानमा जुटेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पेस्तोल कागजभित्र बेरिएको थियो, र कागजलाई कपडाले बेरिएको थियो । मेड इन यु.एस.ए. लेखिए पनि पेस्तोल भारतमा बनिने गरेको डिएसपी बस्नेतले बताए । ‘मेड इन यु.एस.ए. लेखिए पनि भारतमा बन्छ, ५ राउण्ड गोली पनि अलग्गै थियो, लोड भएको थिएन,’डिएसपी बस्नेतले भने,‘कसरी त्यहाँ फालियो भनेर अनुसन्धान शुरु गरिसकेको छौं ।’