धरान: करिब ३ दशकअघि बनेको सामान्य घर । टिनले बारेको र माटोले लिपेको यो घर जीर्ण बनिसकेको छ । धरान १७ विजुवा मार्गकी एकल महिला जानुका बिक र उनको छोराछोरी त्यही घरमा बस्छन् ।
उनको जेठी छोरीको विवाह भइसकेको छ । एक छोरा १८ बर्षका छन्, कान्छी छोरी १५ बर्षकी । दुवै जनाले ४, ५ कक्षा पढ्दापढ्दै स्कुल जान छोडे । उनीहरुको आम्दानी पनि छैन । तीन जनाको परिवार आमा जानुकाले घरमा नै चटपटे बेचेर गुजारा चलाइरहेकी छिन् । जानुका बिक भन्छिन्,‘छोराछोरीको काम केही छैन । पढाउन पनि सकिन, ४, ५ कक्षा मात्र पढे । म चटपटे बेच्छु, खाने बाटो नै यही हो ।’
घरमा नै चटपटे बेचेर कति नै कमाई होला र ? घर एकदम चल्तीको चोकमा पनि छैन । घर खर्च जुटाउन उनलाई धौ धौ पर्छ । पोहोर साल धरानका पत्रकारहरुले तिहारमा देउसी खेलेर धरान ११ का ज्ञानबहादुर माझीको घर बनाइदिएका थिए । उक्त कामबाट प्रभावित वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई(मनोज)ले पत्रकारहरुलाई जानुका बिकको पनि घर निर्माणको लागि आग्रह गरेका थिए । उनको आग्रह वमोजिम पत्रकारहरुले पोहोर सालको देउसीबाट बिकको घर बनाउन ८२ हजार संकलन गरेर हस्तान्तरण गरिसकेका थिए । हिजो शनिबार पुनः सामाजिक कामको लागि भनेर छुट्याएर राखेको १८ हजार पनि हस्तान्तरण गरेका छन् ।
अग्रह पत्रकार जनकऋर्षि चाम्लिङका अनुसार जनता आवास कार्यक्रमबाट घर बन्ने भनेर ढुक्क भएपनि ढिलाई हुने भएपछि थप १८ हजार पनि दिएर १ लाख पुर्याइदिएको बताए । उनले भने,‘यसपाली त देउसी खेलिएन । तर, पोहोर सालकै १८ हजार सामाजिक कामको लागि राखेका थियौं, त्यो पनि उहाँको खातामा १ लाख हुने गरिदिएका हौं ।’
वडा नं १७ का अध्यक्ष भट्टराईका अनुसार वडा ११ मा ज्ञान बहादुर माझीको घर निर्माण अभियानबाट आफु प्रभावित भएर पत्रकारहरुलाई जानुका बिकको पनि घर निर्माण अभियान थाल्न आग्रह गरेको बताए । पत्रकारहरुले पोहोर नै ८२ हजार दिएको र पछि जनता आवास कार्यक्रमबाट घर बन्ने भनिए पनि बजेट नआएपछि घर बनाइदिने प्रतिवद्धता पुरा गर्न पुनः अभियानलाई अघि बढाउने निर्णय गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । ‘जनता आवास कार्यक्रममा उहाँको नाम पनि पर्यो, तर पैसा आएन । घर बनाइदिने भनेर जिस्काए जस्तो मात्र हुने भयो भनेर फेरि सल्लाह गर्यौं,’अध्यक्ष भट्टराईले भने,‘खातामा १ लाख जम्मा भयो । अब सामान झारेर सोमबारदेखि काम शुरु गछौं ।’
अध्यक्ष भट्टराईले जानुका बिकको घर निर्माणमा सहयोग गर्न पनि दाताहरुलाई आग्रह गरेका छन् । पैसा नै दिनुपर्छ भन्ने नभएको र आवश्यक सामाग्रीहरु पनि सहयोग गर्न सकिने उनले बताए । ‘पैसा नै दिनुपर्छ भन्ने छैन, सामानहरु दिएर पनि सहयोग गर्न सक्नु हुन्छ,’अध्यक्ष भट्टराईले भने,‘ एउटा मिस्त्री राखेर लेबरको काम हामी आफैले गर्ने सल्लाह, श्रम गर्ने कुरा छ । उहाँको परिवारलाई सुरक्षित बाँस दिने अभियानमा छौं ।’ विकको सहयोगका लागी लक्ष्मी बैंक धरान शाखामा रहेको जानुकामाया विश्वकर्माको खाता नं. ०२३२३०६२०७५ मा सहयोग गर्न सकिने पनि उनले जानकारी दिए । पत्रकार र वडाअध्यक्षको पहलमा नयाँ घर बन्ने भएपछि एकल महिला बिक पनि खुशी भएकी छिन् । उनले भनिन्,'एकदमै खुशी छुँ । हजुरहरुले गर्नु भएको काम राम्रो लाग्यो'