मोरङ: लोकसेवा आयोगले प्रहरी जवानतर्फ लिइरहेको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका १ का १८ बर्षीय बिल्साद आलम रहेका छन् । उनी बिराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा परीक्षा दिइरहेको बेला पक्राउ परेका हुन् । लोक सेवा आयोगको कार्यालय धनकुटाले लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा उनले अर्काको परीक्षा दिइरहेका थिए ।
प्रहरीका अनुसार आलमले हरिनगरा १ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।