धरान: प्रहरीले झापा र मोरङ जिल्लाको सिमा क्षेत्रबाट अवैध रुपमा भन्सार छलेर ल्याएको करिव तीन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरेको छ ।
विशेष सुराकको आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको लत्ताकपडा वरामद गरेको हो । भारतीय बजार पानीटंकीबाट खरिद गरेर ल्याएको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर ७ सतिघट्टा एरियाबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो साँढे १२ बजे भन्सार छली ल्याएका २ लाख मुल्य बराबरको थर्मकोट बरामद गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर(१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो । भारतीय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छलेर घरमा भण्डार गरेर राखिएको भन्ने विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा १ सय ४७ सेट थर्मकोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने प्रहरी कार्यालय मोरङले जनाएको छ ।