धरान: गायक डिल्ली फोम्बो एण्ड द ब्याण्डको संयोजन एवं आयोजनामा धरान ४ गैरीगाँउस्थित पञ्चरत्न बाल विकास केन्द्रलाई आर्थिक सहयोग गरिएको छ ।
बालबिकास केन्द्रको जीर्ण बनेको खाँबो परिवर्तन गरि पक्की पिल्लर निमार्णका लागी २० हजार नगद सहयोग गवरिएको हो । हङकङ निवासी धरान १५ का समिर मगरले आफ्नो स्वर्गीइ आमा कर्णमाया लुँगेली मगरको स्मृतिमा यो सहयोग गरिएको गायक फोम्बोले जानकारी दिए । दुई कोठे रहेको केन्द्रको भवनको खाँबोहरु जीर्ण बनिसकेको छ । उक्त जीर्ण अवस्थामा रहेका ९ वटा काठको खाँबो परिवर्तन गरि पक्की बनाउनको लागि सहयोग गरिएको फोम्बोले बताए ।
पिलर निर्माण गर्न आवश्यक सिमेन्ट केन्द्रिय प्रविधी क्याम्पस हात्तिसारले उपलब्ध गराउने भएको व्यवस्थापन समितिका अध्यक्ष तथा जग्गादाता पञ्चबहादुर राईले जानकारी दिए । केन्द्रमा रहेको १६ विधार्थीका लागी बस्ने चकटी गायक फोम्बोले कक्षा संचालन हुने भएपछि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा धरान ४ का वडा सदस्य धनबहादुर राई, शिक्षिका यज्ञकुमारी थापा, समाजसेवी द्रोण कटुवाल, मदन कटुवाल लगायतको उपस्थिती रहेको थियो ।
अघिल्लो बर्ष उर्जा ब्याण्डका प्रशान्त शर्मा र दिनेश ढुङ्गेलसँगको सहकार्यमा फेस्टिभल हंगामा कार्यक्रम गरेर संकलन भएको रकमले साँगुरीगढी गाँउपालिकामा महाभारत प्राविमा सहयोग गरिएको गायक फोम्बोले जानकारी दिए । त्यसबेला विभिन्न शैक्षिक सामग्री, विधार्थीका लागि पोशाक, ज्याकेट, जुत्ता र स्वेटर प्रदान गरिएको थियो । गायक फोम्बोले केही महिना भित्र नै महाभारत प्राविमा ३ थान डेस्क, ३ थान बेञ्च र बच्चाहरूलाई बसेर लेख्न मिल्ने ४ थान टेबल प्रदान गरिने बताए ।