सुनसरी: प्रहरीले इटहरीबाट ठुलो परिमाणमा लागुऔषधसहित कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय पनि छन् ।
इलाका प्रहरी कार्यालय इटहरीले आकस्मिक चेकजाँच गर्ने क्रममा वडा नं ६, ९ र १३ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको दरभंगा घर भएपनि हाल दुहबनी नगरपालिका ६ मा बस्दै आएका २७ बर्षीय ओमप्रकाश यादव छन् । यस्तै, मोरङ जदाहा गाउँपालिका ४ का उमेश कुमार मण्डल, इटहरी ८ वीपी चोकबाट सनम बस्नेत र इटहरी १२ खनारबाट सागर काफ्लेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरि, अमर सरदार र प्रकाश सरदारलाई ओमप्रकाश यादवसँग लागुऔषध किन्न आउने क्रममा पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ट्रामाडोल क्याप्सुल १२ हजार ९ सय ६० क्याप्सुल वरामद भएको छ भने प्लान्कफ १०० एमएलको ३० बोतल, नाइट्राभेट १० लेखिएको १६५० टयब्लेट र स्पास्पेन २४० क्याम्पसुल वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । साथै, ६ थान मोवाइल र ८ हजार ३५ रुपैया पनि वरामद भएको प्रहरीले जनाएको छ ।