सुनसरी: सीमा सुरक्षालाई अझ प्रभावकारी र वलियो बनाउन सुनसरीको सीमास्थित भोक्राहानरसिह गाउँपालिका ८ उल्टीमा पनि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

सशस्त्र प्रहरी बल नेपालको बिओपि उल्टीको बिहिबार एक समारोहका बिच उद्घाटन भएको हो । सशस्त्र प्रहरीको प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा बिभागका बिभागिय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक रामशरण पौडेलले बिओपीको उद्घाटन गरेका थिए । नेपाल सरकारको स्वामित्वमा रहेको ६ कठ्ठा जग्गामा बिओपि उल्टी नं १ स्थापना भएको हो । यो प्रदेशमा ४१ औँ बिओपि हो भने सुनसरी जिल्लामा १० औँ बिओपिको रुपमा स्थापना भएको हो ।

बिओपि उल्टी सुनसरीको उद्‍घाटन गर्दै प्रमुख अतिथि पौडेलले नेपाल सरकारको नीति अनुरुप सीमा सुरक्षा कार्यलाई प्रभाबकारी बनाउन बिओपिहरु थप गर्दै लैजाने क्रममा १९४ औँ बिओपिको रुपमा बिओपि उल्टी स्थापना भएको बताए । बिओपीको स्थापनाले सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र राजश्व अभिबृद्धिमा योगदान दिने पनि पौडेलको भनाई थियो । 'स्थानिय बासिन्दामा शान्ति सुरक्षाको प्रत्याभूति पुग्ने कुराको बिश्वास पनि लिएको छुँ,'उनले भने । पौडेलले बिओपिमा कार्यरत सशस्त्र प्रहरीहरुलाई आर्थिक प्रलोभनमा नपरि अनुशासित र कर्तब्यनिष्ठ भई कार्य क्षेत्रमा परिचालित हुन निर्देशन समेत दिए ।

कार्यक्रममा भोक्रहानरसिह गाउँपालिका अध्यक्ष महेन्द्र यादव, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले पनि मतब्य राखेका थिए । उनीहरुले बिओपीको स्थापनाले शान्ति सुरक्षामा योगदान पुग्ने बताए । सशस्त्र प्रहरी बल नेपाल नं ४ सुनसरीका गणपति सशस्त्र प्रहरी उपरिक्षक माधव प्रसाद पौडेलको धन्यबाद ज्ञापन गरेका थिए ।