धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित पाँच दिने २७ औं बार्षिक साइन्टिफिक कार्यक्रममा पाँच वटा रिचर्स पेपर उत्कृष्ट ठहरिएको छ ।

कार्यक्रममा प्रस्तुत गरिएको अनुसन्धान सांराशहरु मध्ये विभिन्न विधाका उत्कृष्ट ठहरिएका ५ वटालाई आज शुक्रबार समापन समारोहमा पुरस्कृत गरिएको छ । बेस्ट ओरल पेपर फ्याक्लटी विधामा डा. अभिनय लुइँटेल विजेता बने भने बेस्ट ओरल पेपर पोस्ट ग्राजुएट विधामा रमु महर्जन, बेस्ट ओरल, पोस्टर केस रिपोर्ट पोस्ट ग्राजुएट विधामा डा. पुष्पा उपाध्याय विजयी बनिन् ।

यसैगरी, बेस्ट ओरल पेपर अन्डर ग्राजुएट विधामा जगतकिरण ओली र बेस्ट पोस्टर अन्डर ग्राजुएट विधामा निशान्त डल्लाकोटी विजयी भए । अर्को पोस्ट ग्राजुएटको अरिजिनल आर्टिकल पोस्टर विधामा भने कुनै पनि एबस्ट्राक प्राप्त नभएको आयोजकले जनाएको छ । विजेतालाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट पेपर छनौट गर्नको लागि २६ जना निर्णायकहरू रहेका थिए ।

IMG_1794

गत सोमबारबाट शुरु भएको कार्यक्रममा १ सय ४९ वटा अनुसन्धान सारांश प्रस्तुत भएको थियो । कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि एवं प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले महामारीका बिच पनि वार्षिक कार्यक्रम गर्न सफल भएकोमा कन्भेनर प्रा.डा. परीचा उपाध्याय र उनको टिमलाई धन्यवाद दिएका थिए । उनले सबैले मिलेर नै प्रतिष्ठानलाई स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा उत्कृष्ट बनाउदै पुरानो गरिमा फर्काउनुपर्ने बताए ।

कोभिडको कारण यो बर्ष डिजिटल प्लाटफर्ममा कार्यक्रम गरिएको थियो । यद्यपी, अघिल्ला बर्षहरूमा भन्दा बढी सहभागी भएको कन्भेनर एवं प्याथोलोजि विभागकी प्रमुख प्रा.डा. परीचा उपाध्यायले बताइन् । यो बर्ष 'एभिडेन्स म्याटर्सः प्रोमोटिङ रिसर्च अमिड्स्ट द ग्लोबल पान्डेमिक' थिममा कार्यक्रममा आयोजना भएको थियो ।