बिराटनगर: १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान प्रदेश प्रहरी प्रमुख एवं डिआइजी ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव सम्पन्न भएको हो । बार्षिकोत्सवको अवसरमा विगतमा बिशिष्ट योगदान पुर्‍याउने पुर्व प्रहरी नायव निरीक्षक कुमार महर्जनलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि कार्कीले सम्मान पत्रले सम्मान गरेका थिए । यस्तै, तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस (डबल), ब्याडमिन्टन (डबल), हण्डीफोर प्रतियोगिया र म्युजिकल चियरमा प्रथम तथा द्धितिय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो । यसैगरी तालिम केन्द्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी नायव उपरीक्षक बिनोद शर्मा, प्रहरी निरीक्षक भिम बहादुर खड्का, प्रहरी नायव निरीक्षक लक्ष्मी प्रसाद घिमिरे र बुद्धीराज दराई, प्रहरी सहायक निरीक्षक टेकबिर बिक, प्रहरी हवल्दार आशाराम चौधरी, प्रहरी जवान रीता राई, दुर्गा राई, दावा तामाङ तथा प्रहरी कार्यालय सहयोगी दिपेश मालीलाई पनि पुरस्कृत गरिएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथी कार्कीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालीम केन्द्रले ५५ औं वर्ष पुरा गरेको अवसरमा शुभकामना व्यक्त गरेका थिए । नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रको अहम भुमिका रहने उनले बताए । यस्तै, उनले सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्दतीमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको पनि बताए । समयको परिवर्तन सँगसँगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेकोमा उनले जोडदिए । उनले सबैजना सफल प्रशिक्षक हुन र तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न पनि कार्कीले निर्देशन दिए ।

तालिम केन्द्रका सहसमादेशक डिएसपी बिनोद शर्माले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले दक्ष प्रहरी उत्पादन गर्ने क्रममा आजसम्म कुल ७७ हजार ९४ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरिएको जानकारी दिए । केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक टेक बहादुर तामाङले धन्यवाद ज्ञापन गर्दै प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धीमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अघि बढिरहेको बताए । बार्षिक उत्सवकै अवसरमा तालिम केन्द्र परिसरमा बृक्षारोपण समेत गरिएको थियो । बार्षिक उत्सब कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष सृजना थापा कार्की तथा पदाधीकारीहरु, पूर्ब प्रहरीहरु र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो।