धरान: औजार प्रकाशन सहकारी संस्थाअन्तर्गत प्रकाशन भइरहेको औजार टिभीको स्टुडियो उद्घाटन भएको छ ।

धरान ९ आचार्यलाइनस्थित औजार दैनिकको कार्यालयमा टि.भि.को स्टुडियो शुक्रबार उद्घाटन गरिएको हो । प्रमुख अतिथि एवं नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ कमिटि अध्यक्ष देवराज घिमिरे र बिशेष अतिथि तथा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले स्टुडियोको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि घिमिरेले मजदुरहरुकै प्रयत्नमा औजार सहकारीमार्फत प्रकाशन शुरु भएकोमा खुशी व्यक्त गर्दै चुनौती सामाना गर्दै अघि बढ्न शुभकामना व्यक्त गरे । पत्रकारिताको क्षेत्रमा सत्य कुरालाई प्रकाशमा ल्याउने, गलत कुरालाई जनताको माझ भण्डाफोर गर्ने अभियानमा औजार केन्द्रीत हुनुपर्ने उनले बताए । ‘सच्चाईलाई जनताको बीचमा स्थापित गर्ने, सही कुरालाई जनताको अघि स्थापित गर्न प्रेरित गर्ने यो कामहरु प्रकाशनले गर्छ भन्ने ठानेको छँु,’घिमिरेले भने,‘औजार टिभीले आजकै दिनबाट महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ, पेशगत हिसाबले मात्र नभै समाजलाई सही बाटो देखाउनको लागि, सही नेतृत्व गर्नको लागि सहयोगी हुनेछ ।’ उनले श्रमशोषणलाई अन्त्य गर्ने, श्रमको माध्यमबाट समाजलाई सुखी, समृद्धि बनाउने अभियानमा औजार केन्द्रीत हुन पनि सुझाव दिए ।

aujar4

बिशेष अतिथि एवं महासंघ उपाध्यक्ष काफ्लेले सफलताको शुभकामना व्यक्त गर्दै लकडाउनले मिडिया क्षेत्र धरासायी भए पनि औजारलगायत थुप्रै मिडियाहरुले अनलाइनमार्फत भएपनि समाचार तथा सुचनाहरु प्रवाहमा कटिवद्ध रहेको बताए । उनले टिभी सेटलाइटमा जाओस् भन्ने शुभकामना दिदै युटुबमा मात्र सिमित नभई टेलिभिजनकैरुपमा सञ्चालन होस् भन्ने कामना व्यक्त गरे ।

भिडियो:

औजार अनलाइनका सम्पादक केदार बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्दै प्रविधिले फड्को मार्दै गर्दा औजार सप्ताहिक पत्रिकाबाट दैनिक हुदै, अनलाइन शुरु गरेर अहिले औजार टिभी पनि शुरुवात भएको जानकारी दिए । लकडाउनले गर्दा पत्रिका प्रकाशन बन्द भएपनि प्रविधिको मार्फत अनलाइन र टिभीबाट जनतालाई सुसुचित गर्ने अभियानमा निरन्तर लागिरहेको उनले बताए । औजार प्रकाशनका अध्यक्ष मोतिराज सुनुवारले अनेक चुनौती र समस्याको बीचमा पनि न्यायको लागि, जनतालाई सुसुचित बनाउनको लागि निरन्तर लागिपरेको बताए । उनले सेयर सदस्यसँगै सबैबाट साथसहयोग पाउने अपेक्षा व्यक्त गरे ।
aujar2 aujar aujar3