धरान: एक समय कोरोना संक्रमण र मृत्यु दर उच्च भएको धरानमा हिजोआज भने दैनिक संक्रमण दर न्युन छ भने मृत्यु दर शुन्यमा झरेको छ ।
संक्रमण दर घटेसँगै धरानमा सातामा ३ दिन मात्र स्वाब संकलन हुन थालेको छ । त्यो बेला पनि एक महिना यता स्वाब दिनेहरुको संख्या ३० जना भन्दा बढी हुदैनन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार एन्फा एकेडेमीमा आइतबार, मंगलबार र बिहिबार मात्र स्वाब संकलन भइरहेको छ । ‘एक महिनायता एक पटक स्वाब संकलन गर्दा ३० जना भन्दा माथि छैन । २५ जनाको पिसिआर परीक्षण गर्दा ५, ६ जनाको मात्र पोजेटिभ रिपोर्ट आइरहेको छ,’मेहताले भने,‘लक्षण देखिने केस घटेको छ, संक्रमण दर पनि न्युन छ ।’
मेहताका अनुसार दुई सातादेखि धरानमा मृत्यु दर पनि शुन्यमा झरेको छ । अहिले होम आइसोलेसनमा हुने संक्रमितहरुको संख्या पनि २ सयको हाराहारीमा मात्र भएको उनले बताए । यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा पनि भर्ना हुने संक्रमितहरुको संख्या घटेको छ । प्रतिष्ठानको प्रवक्ताको कार्यालयले शुक्रबार उपलब्ध गराएको तथ्यांक अनुसार पिसिआर रिपोर्ट पोजेटिभ आएका १४ जना अस्पतालमा भर्ना भएका छन् भने १ जना शंकास्पद व्यक्ति छन् ।
एन्फा एकेडेमीको क्वारेन्टिन हट्यो
विदेशबाट घर फर्कनेहरुको संख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाले संक्रमण नियन्त्रण गर्नको लागि उनीहरुलाई क्वारेन्टिनमा राख्न धरान १७ स्थित एन्फा एकेडेमीको भवनलाई क्वारेन्टिनमा परिणत गरेको थियो । एक समय उक्त भवनमा विभिन्न कारणले विदेश गएर घर फर्कनेहरु खचाखच बस्ने गरेका थिए । उपमहानगरपालिकाले उनीहरुको परिवार र समाजमा संक्रमण नपुगोस् भनेर १४ दिन क्वारेन्टिनमा राखेपछि पिसिआर जाँच गरेर रिपोर्ट आएपछि मात्र अस्पताल वा घर पठाउने गरेको थियो ।
अहिले पनि एन्फा एकेडेमी भवनबाट क्वारेन्टिन हटिसकेको छ । विदेशबाट आउने मानिसहरुको संख्या घटेर दशैंअघिदेखि नै क्वारेन्टिन खाली हुन थालेको थियो । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार एन्फामा अहिले स्वाब संकलन मात्र भइरहेको छ । नयाँ ठाउँको खोजी भइरहेकोले भेटिएपछि स्वाब संकलन गर्ने थलो पनि परिवर्तन गरिने उनले बताए ।
अहिले एन्फा एकेडेमीमा बस्ने उमेर समुहका खेलाडीहरु विभिन्न जिल्लाबाट एकेडेमीमा आइसकेका छन् । एकेडेमीमा एन्फाले १४ बर्ष उमेर समुहका खेलाडीहरुलाई खाने, बस्ने, पढ्ने सुविधासहित राखेर फुटबल प्रशिक्षण गराउछ । विभिन्न जिल्लाका २८ जना मध्ये २६ जना खेलाडीहरु एकेडेमीमा आइसकेको एकेडेमी मेनेजमेन्ट कमिटीका सचिव प्रताप तामाङले जानकारी दिए । उनका अनुसार २ जना विरामी भएकोले घरमा नै छन् । एकेडेमी आइपुगेका बाल खेलाडीहरुको आइतबार पिसिआर जाँच गरिने र रिपोर्ट आएपछि विद्यालय जाने, प्रशिक्षण शुरु गर्ने सचिव तामाङले बताए ।
हरियालीको आइसोलेसन प्रयोगविहिन
कोरोना संक्रमण दर उच्च हुँदा वीपी प्रतिष्ठानको कोभिड अस्पताल र आइसोलेसनमा बेड नपाउने अवस्था पुगेपछि धरान उपमहानगरपालिकाले धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहलाई आइसोलेसनमा परिणत गरेको थियो । त्यहाँ उपमहानगरपालिकाले २३ वटा बेड तयार गरेको थियो भने इन्टरनेट सुविधा र सिसिटिभी पनि जोडेको थियो ।
हरियालीको आवास गृहलाई आइसोलेसन बनाउदा करिब ५ लाख हाराहारीमा खर्च भएको छ । हरियालीमा आइसोलेसन तयार गरिए पनि प्रयोगमा भने आएन । अहिलेसम्म एक जना पनि कोरोना संक्रमित हरियालीको आइसोलेसनमा बसेको रेकर्ड छैन । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार आइसोलेसन तयार गरेलगत्तै नेपाल सरकारले संक्रमितहरुलाई घरमा नै बस्न सकिने होम आइसोलेसनको नयाँ स्वास्थ्य प्रोटोकल जारी गरेपनि हरियालीमा एक जना पनि संक्रमित नबसेको हो । ‘बीपीमा भिडभाड भयो, संक्रमितहरु थेग्न गाह्रो भयो भनेर हरियालीमा आइसोलेसन बनायौं। तयार भएलगत्तै सरकारले होम आइसोलेसनको प्रोटोकल ल्याएपछि संक्रमितहरु घरमै बस्न थाले, हरियालीको आइसोलेसन खाली नै रह्यो,’मेहताले भने ।
आइसोलेसन बनाइए पनि प्रयोगमा आउन नसकेपछि अहिले हरियाली वन समुहले विगतमा जस्तै आफैले प्रयोग गर्न थालेको छ । यो आवास गृह हरियाली वन समुहको आम्दानीको स्रोत हो । आइसोलेसनको लागि दिएको लामो समय भएको र संक्रमितहरु पनि नआएर प्रयोगविहिन भएपछि अहिले समुहले नै पाहुनाहरुको लागि कोठाहरु पुनः प्रयोग गर्न थालेको उपाध्यक्ष हरि तामाङले जानकारी दिए । उनका अनुसार आइसोलेसनको लागि प्रयोग गर्नुपर्ने अवस्था आएमा प्रयोग गर्न उपलब्ध गराउने गरि सामानहरु स्टोरमा राखिएको छ । ‘समुहको मासिक बैठकमा कुरा उठ्यो, हाम्रो आम्दानी पनि घटेकोले आवश्यक परे आइसोलेसनको लागि प्रयोग गर्न दिने गरि पाहुना राख्न शुरु गरिएको छ,’उपाध्यक्ष तामाङले भने । उनका अनुसार २ दिनअघि राष्ट्रिय युवा संघको भेला आयोजना भएको थियो भने नेताहरु आवास गृहमा नै बसेका थिए ।