धरान: धरानका कोरोना संक्रमित व्यक्तिहरुलाई धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहमा राखिने भएको छ ।
पिसिआर पोजेटिभ रिपोर्ट आए पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन बेडको अभाव भएपछि संक्रमितहरु घरमा नै रहेका छन् । घरमा बस्दा आवश्यक मापदण्ड पुरा नहुने र अन्यलाई संक्रमणको पनि जोखिम हुने भएकोले उनीहरुलाई अलग्गै राख्न उपमहानगरपालिकाले तयारी गरेको हो । वीपी प्रतिष्ठानका विज्ञ चिकित्सक, नेपाली सेनासहितको टोलीले आवश्यक निरीक्षण गरेर हरियालीको आवास गृहलाई आइसोलेसन केन्द्र बनाउन छनौट गरेको हो ।
मेयर तिलक राईका अनुसार यो आवास गृहमा २३ जनाको क्षमता हुनेछ । त्यहाँको सुरक्षा तथा व्यवस्थापनको जिम्मा नेपाली सेनाको हुनेछ । संक्रमित बस्ने क्षेत्रलाई घेराबारा गरेर राखिनेछ भने सिसिटिभीबाट निगरानी हुनेछ । ‘वीपीले धरानको लागि १०, १५ वटा बेड दिने भन्ने थियो, तर बेड पाउनै समस्या भएकोले उपमहानगर आफैले व्यवस्थापन गर्नुपर्ने भयो,’मेयर राईले भने,‘वीपीका पदाधिकारीहरु गैरजिम्मेवार भए । जुन क्षमताको बेड हुनुपर्ने थियो, त्यो पाइएको छैन ।’
मेयर राईका अनुसार पिसिआर पोजेटिभ भएपनि लक्षण नभएकाहरुलाई मात्र हरियाली आवास गृहमा राखिनेछ । आइसोलेसन तयारीको लागि सिसि क्यामेरा, सुरक्षा, स्वास्थ्य, वाइफाई, मनोवैज्ञानिक चिकित्सक र राम्रो खानपिनको सुविधा व्यवस्था गर्ने मेयर राईले बताए । ‘मनोवैज्ञानिकरुपमा खुल्ने अवस्था बनाउछौं, १४ दिन आरामसँग बसोस् भनेर व्यवस्थापन गर्दैछौं,’उनले भने ।