तेह्रथुम: तेह्रथुमको म्याङलुङ नगरपालिका ८ कोबेकमा अंशबण्डाको बिषयको झगडाले उग्ररुप लिदा एक जनाको ज्यान गएको छ । प्रहरीले हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ पनि गरिसकेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार हत्या आरोपमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु पक्राउ परेका छन् । शुक्रवार राती साँढे ७ बजे कुमारका बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झगडा भईरहेको थियो । सोही बेला कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काएका थिए ।
त्यसक्रममा उनको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम पठाएको थियो । साथै, कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको प्रहरीले जनाएको छ ।