धरान: हिजो सोमबार ईलाका प्रहरी कार्यालय धरानलाई एउटा सुचना आयो, धरान १५ मा लागुऔषध बेचबिखन भइरहेको छ ।
गोप्य सुचना पाएपछि धरान प्रहरीको टोलीले धरान १५ सयपत्री मार्गका २७ बर्षीय देवीबहादुर लिम्बुको घरमा करिब साढे ४ बजेतिर पुग्यो । उनीसँगै २६ बर्षीय रनसुर राई पनि थिए । प्रहरीले खानतलासी गर्दा लागुऔषध त फेला पारेन । तर, प्रहरी खाली हात पनि फर्कनु परेन । खानतलासी गर्दा प्रहरीले २ थान हतियार पेस्तोल फेला पार्यो । प्रहरीले लिम्बुको कोठाबाट यु.एस.ए. लेखेको खोली म्याग्जिनसहित एक थान पेस्तोल र अर्काे म्योग्जिनविनाको गरि २ थान पेस्तोल फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार अहिले दुवैलाई पक्राउ गरेर हतियार सम्बन्धमा अनुसन्धान भइरहेका छ । ‘लागुऔषधको बिषयमा सुचना आएर प्रहरी पुगेको थियो, तर उनीहरुसँग पेस्तोल भेटियो,’डिएसपी बस्नेतले भने,‘के प्रयोजनमा, कहाँबाट ल्याएको हो भनेर अनुसन्धान भइरहेको छ ।’
डिएसपी बस्नेतका अनुसार उनीहरुको साथबाट लागुऔषध नभेटिए पनि दुवै सेवनकर्ता भएको खुलेको छ । प्रहरी सामु दुवैले आफुहरु लागुऔषध सेवन गर्ने स्वीकार गरेका छन् । तर, उनीहरुसँग फेला परेको पेस्तोल कहाँबाट, कुन प्रयोजनमा ल्याएको हो भनेर खुलाएका छैनन् । ‘अहिलेसम्म कहाँबाट, किन ल्याएको हो भनेर बताएको छैन, हामी प्रारम्भिक अनुसन्धानमा नै छौं,’डिएसपी बस्नेतले भने ।