बिराटनगर: १ नम्बर प्रदेशको सुनसरी, झापा र ओखलढुङगामा बुधवार साँझ भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

बुधवार साँझ साँढे ६ बजे सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा स्थानीय ९० बर्षीय बेचुदास मेहेता घाईते भएका थिए । उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी, झापाको बिर्तामोड नगरपालिका ५ पुर्व पश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिंदा स्थानीय २८ बर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ । बुधवार राती पौने ९ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त नम्बरको कारले ठक्कर दिंदा चौधरी घाईते भएका थिए । उनको झापाको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यु भएको थियो । ठक्कर दिने कार र चालक समेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । यस्तै, ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका ६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

यस्तै, बुधवार राती साँढे ७ बजेको समयमा मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङ तर्फ जाँदै गरेको उक्त नम्बरको मोटरसाईल दुर्घटना हुँदा रामेछापको मन्थली गाउँपालिका ९ का २८ बर्षीय टेकबहादुर नेपाली घाईते भएका थिए । उनलाई उपचारको लागी जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।