धरान: सुनसरीको इनरुवाबाट आज प्रहरीले ४ जना लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ ।

इनरुवा नगरपालिका ३ बाट ३२ बर्षीय ममता श्रेष्ठ, निरज शिवाकोटी र रामधुनी ७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो । आइतबार बिहान करिब ९ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शिवालय टोलस्थित नारायणप्रसाद शिवकोटीको घर पछाडि कम्पाउण्डमा घेरा हालेर खानतलासी गर्दा लागुऔषधसमेत फेला परेको जनाएको छ । प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको सुचना आएको थियो । उक्त घरमा टिनको छाना भएको कुखुराको खोरको मुनी जमिनमा खाल्डो खनेर पहेलो प्लाष्टिकको झोलामा पोका पारेर पुरेको अवस्थामा लागुऔषध फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डाइलक्स डिसि १०० एम.एल.लेखिएको ५३ बोतल वरामद भएको थियो भने नाइट्रोसन १० लेखिएको १६ पत्ता(१६० ट्याब्लेट) पनि वरामद भएको थियो । यसैगरि, चुलोमा बालेको अवस्थामा डाइलक्स डिसि को बिर्को र बिर्कोमा लगाउने लक(रिङ) ११० थान पनि भेटिएको प्रहरीले जनाएको छ । यस्तै, विभिन्न कम्पनीको मोवाइल ८ थान र एउटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम अदालतबातट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।