धरान: मकुना हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएपछि आन्दोलनरत कोशी गाउँपालिकाका हात्ती पीडित स्थानीयबासी र प्रशासनबीच सहमति जुटेको छ ।

कोशी टप्पु बन्यजन्यु आरक्षमा दिउँसो भएको वार्तामा तत्कालकोलागि सहमति जुटेपछि मृतक १९ बर्षीय मोती कामतको शव पोष्टमार्टमको लागि इनरुवा अस्पताल लगिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले मकुनालाई नियन्त्रण गर्न यसअघि अध्ययनको लागि आएको विज्ञ टोलीलाई फेरि झिकाउने, विद्युतीय तारबार लगाउने, विज्ञ टोलीले जनप्रतिनिधिसँग छलफल गरेर प्रगति विवरण बुझाउनेलगायत सहमति भएको बताए । ‘मृतकलाई चाडो राहत दिलाउने पनि सहमति भएको छ,’ प्रजिअ पोखरेलले भने ।

कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले भने विगतमा आएको विज्ञ टोली कहिले फर्किएको भन्ने जानकारी नै आफुहरुले नपाएको भन्दै असन्तुष्टी जनाएका छन् । ‘विज्ञ टोलीले के गरेर फर्कियो भन्ने थाहै छैन, त्यो टोली फर्किसकेको थियो भन्ने पनि आजमात्र थाह भयो । हामीलाई पनि झुक्याएजस्तो लाग्यो,’उनले भने,‘चितवनबाट विज्ञ टोली आज राती आइपुग्ने कुरा छ । के प्रगति भयो भनेर जानकारी दिने पनि सहमति छ ।’

संघर्ष समिति गठन

sadak3

हात्ती पीडित स्थानीयबासीले आज बिहानैदेखि पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका थिए । आरक्षमा आउने हात्तीले थुप्रै स्थानीयबासीको ज्यान लिइसकेको छ । पछिल्लो १५ दिनमा मकुना हात्तीले २ जनाको ज्यान लिइसकेको छ । दिउँसो प्रहरी प्रशासनको पहलमा राजमार्ग खुलाएर आन्दोलनरत पक्ष मृतकको शव लिएर आरक्ष कार्यालमा धर्ना दिन पुगेका थिए । त्यहाँ भएको वार्तामा सहमति जुटेपनि स्थानीयबासीले संघर्ष समिति गठन गरेको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए ।

उनका अनुसार जंगली हात्तीबाट हुने आक्रमण धनजनको क्षतिलगायतको समस्या समाधान नभएसम्म संघर्ष समितिले आन्दोलन गरिरहने जनाएको छ । ‘संघर्ष समितिले हात्तीको समस्या समाधान नभएसम्म आन्दोलन गरिरहने भनेको छ, भोली बुधबार दिउँसो १ बजे संघर्ष समितिको बैठकले थप निर्णय गर्ने जानकारी आएको छ,’अन्सारीले भने ।