धरान: धरानका विभिन्न खोला खोल्सीमा जथाभावी फालिएको फोहोर सरसफाई अभियान सुरु गरिएको छ ।
धरान उपमहानगरपालिकाले धरान डेको अवसर पारेर पुष २० गतेदेखी प्रत्येक शनिबार सरसफाइ अभियान सुरु गरेको हो । आज (शनिबार) पनि धरानको सिद्धिचरण मार्गस्थित खहरे खोलामा सरसफाइ गरिएको छ । यसलाई अभियानकै रुपमा निरन्तरता दिइने उपमहानगरको वाताबरण निरीक्षक राजु चौहानले बताए । ‘नगर भित्रको खोला खोल्सीमा फालिएको फोहोर सफाइ अभियान हामीले धरान डे को अवसर पारेर सुरु गरेका छौं, आज दोस्रो पटक हो’ चौहानले भने ‘अब हामी यो अभियानलाई निरन्तर रुपमा अगाडी बढाउँछौं, धरानलाई सफा राख्न यो अभियानमा सबै सहभागी हुन म समपूर्ण नगरबासीमा आब्हन गर्दछु ।’
उपमहागरसहित सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघसंस्था र स्थानीयबासीको संक्रियतामा प्रत्येक शनिबार सरसफाइ सुरु गरिएको बताए । उनले सरसफाइको क्रममा खहरे आसपासका स्थानीयबासीलाई जथाभावी फोहोर नफाल्न समेत आग्रह गरे । फोहोर प्रदुषणबाट वर्षौदेखी खहरे आसपासका स्थानीयबासी आजित बन्दै आएका छन । उपमहानगरले सरसफाइ अभियान सुरु गरेपछि स्थानीयबासी खुशी देखिन्थे । ‘जे होस् उपमहानगरपालिकाले खहरे खेल्सीमा सरसफाइ गर्ने अभियान थाल्यो, यसमा हामी खुशी छौं, यो अभियानलाई हामीले पनि साथ दिनुपर्छ’ धरान–१२ की विमला विश्वकर्माले भनिन् ।