धरान: आफ्नै घरमा नातिनीलाई जर्बजस्ती करणी गर्ने धरान १७ का एक वृद्धालाई अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको छ ।
इलाका प्रहरी कार्यालयले धरान १७ बाट ६१ बर्षीय एक वृद्धलाई नातिनी बलात्कारको आरोपमा पक्राउ गरेको छ । उनलाई हिजो आइतबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार जर्बजस्ती करणीको उजुरी परेपछि उनलाई शनिबार पक्राउ गरिएको थियो । ती वृद्धले आफ्नै छोरीकी छोरी ११ बर्षीया नातिनीलाई जर्बजस्ती गरेको आरोप छ ।
प्रहरीका अनुसार पक्राउ परेका वृद्ध अत्यधिक मदिरा(रक्सी) सेवन गर्ने व्यक्ति हुन् । आफ्नै कोठामा नातिनीलाई जर्बजस्ती करणी गरिरहेको बेला पीडितको दाजुले देखेपछि घटना प्रहरीसम्म आइपुगेको हो । डिएसपी बस्नेतले भने,‘पीडितको दाजुले नै जर्बजस्ती करणी देखेपछि हल्ला खल्ला भयो, र २५ गते बेलुका हामीले पक्राउ गर्यौं ।’ पीडितको स्वास्थ्य जाँच पनि भइसकेको छ भने पक्राउ परेका वृद्धलाई पनि उपचारको लागि एक पटक अस्पतालमा लैजानु परेको डिएसपी बस्नेतले बताए । अत्यधिक मदिरा सेवन गर्ने बानी भएका अभियुक्तले प्रहरी हिरासतमा पिउन नपाएपछि थर थर कामेको र अस्पताल लैजानुपरेको थियो । अहिले पनि उनी हिरासतमा नै छन् ।