धरान: पोखरा महानगरपालिका २० स्थित मलामका २८ बर्षीय विमल कार्कीले योर डिजिटल फोटो गुड्स सेन्टर चलाएर बसेका छन् । उनलाई झापाको अर्जुनधारा नगरपालिका ६ महानन्द चोकका २० बर्षीय अनुप ढकालले एक साताअघि फोनमार्फत सम्पर्क गरे ।

ढकालले विराटनगरमा भव्य फेसन शो कार्यक्रममा फोटोग्राफरको लागि कार्कीलाई अफर गरे । त्यति मात्र होइन, उनले इसेवामार्फत पुष २४ गते ४ हजार रुपैया पश्कीसमेत पठाइदिए । यति भएपछि विश्वस्त बनेका कार्की भोलीपल्ट पुष २५ गते पोखराबाट पुर्व आएका थिए । उनलाई ढकालले नै मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आर एन होटल एण्ड लजको ११४ नम्बर कोठामा सबै सामान राख्न लगाए । त्यसपछि ढकालले खाना खुवाउनको लागि कार्कीलाई इटहरीस्थित प्राईम होटलमा पुर्याए ।

त्यतिबेलासम्म ठिकै थियो । तर, खाना खानको लागि प्राईम होटलमा पुगेका कार्कीलाई त्यही छोडेर ढकाल वेपत्ता भए । कार्कीलाई इटहरीको प्राइम होटलमा छोडेका ढकालले आर एन होटलबाट सम्पुर्ण फोटोग्राफीसम्बन्धी सामानहरु चोरी गरेर फरार भएछन् । त्यसपछि मात्र फेसन सोको लागि फोटो खिच्न पुर्व आएका कार्कीले आफु ठग र चोरको फन्दामा परेको पत्तो पाए । उनले प्रहरीमा उजुरी गरेका थिए । मोरङ प्रहरीले चोरी गरेर फरार भएका ढकाललाई हिजो उनकै घरबाट सहयोगीसहित पक्राउ गर्न सफल भएको छ ।

camera-chori- 1

मोरङ प्रहरीका अनुसार चोरीमा संलग्न ढकालसँगै उनका सहयोगी २० बर्षीय साराम्स भट्टराई पनि पक्राउ परेका छन् । उनीहरुलाई चोरी कसुरमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले कार्कीको चोरी गरेको विभिन्न १४ थान सामग्रीहरु पनि वरामद भइसकेको छ । ढकाल र उनका सहयोगी भट्टराईको साथबाट क्यामेरा ३ थान, झोला ७ थान, लाइट १ थान, ल्याप टप १ थान, ब्याट्री चार्जर ६ थान, ट्रिगर २ थान, पावर बैंक ३ थान, रिफ्लेक्टर १ थान, ड्रोन १ थान, मेमेरी कार्ड ६ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट र क्यामरा लाईट ब्याट्री ५ थान बरामद भएको छ ।