धरान: सफा र सन्दुर नगरीकोरुपमा धरान परिचित छ । यहाँका घर र सडकहरु चिटिक्क परेका हुन्छन् । तर जब धरानमा रहेका खहरे खोलाहरुमा पुगिन्छ, तब सफा धरानको फोहोर पाटो थाह पाइन्छ ।
धरान उपमहानगरपालिकाले समय तालिका बनाएर घर तथा सडकमा रहेको फोहोर संकलन गरेर अस्थायीरुपमा व्यवस्थापन गरिरहेको छ । तर पनि धरानको बीच भाग भएर बग्ने खहरे खोलाहरुमा फोहोरको डंगुर देखिन्छ । जसले सुन्दर सहर धरानलाई गिज्याई रहेको छ । सुन्दर अनुहारमा देखिने दाग भई रहेको धरानको खहरे खोलाहरुलाई सफा राख्न वृहत सरसफाई अभियान भइरहेको छ ।
भिडियो:
'धरान डे'को अवसरमा प्रत्येक शनिबार शुरुवात गरिएको खहरे क्षेत्र सरसफाई अभियान आज तेस्रो हप्ता पुगेको छ । आज पनि धरान १२ चतरालाइन, उपमहानगरपालिकास्थित खहरे पुलबाट सरसफाई अभियान भएको थियो । उक्त खहरे सरसफाई अभियानमा मेयर तिलक राई पनि सहभागी भएका थिए । अभियान हरेक शनिबार ७ बजेदेखि करिब २ घण्टा हुने गरेको छ ।
मेयर राईले खहरेलाई डम्पिङ साइटकोरुपमा लिएर फोहोर फाल्ने गलत नजिर र अभ्यासलाई वदल्न सरसफाई अभियान शुरु गरिएको बताए । उनले माछा भौडीलाई सरसफाई गरेर सुन्दर पार्क बनिरहेको उदाहरण दिदै अन्य खहरेलाई पनि सुन्दर बनाउन सकिने बताए । ‘अभ्यासको गलत नजिरले हुनसक्छ । सिधै ढल मिसाउने, फोहोर फाल्ने गरेको देखेका छौं । खहरे खोलालाई सकेसम्म सरसफाई गरेर नियमित सफाई गर्ने हो भने सुन्दर देखिनसक्छ,’मेयर राईले भने,‘अब हरेक वाड र टोलबासीलाई हरेक शनिबार ७ बजेदेखि ८ बजेसम्म सहभागी गराउनको लागि योजना तयार गरिरहेका छौं । खहरेमा फोहोर मैला नफाल्न अपिल पनि गर्न चाहन्छु, र आफ्नो घरअघिको खहरे सरसफाईमा जुट्न पनि आह्वान गर्न चाहन्छुँ ।’
सरसफाई अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, उपमहानगरका सरसफाईकर्मीहरु, वडाका जनप्रतिनिधि, टिएलओ र सेवक अभियान नियमितरुपमा सहभागी हुने गरेको छ । यो अभियान उपमहानगरपालिकाको संयोजनमा भएपनि नगरबासीहरुको अभियान भएको वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख भेषराज घिमिरेले बताए । ‘यो नगरबासीहरुकै अभियान हो, त्यसैले सम्पुर्ण नगरबासी, सामाजिक संघसंस्थाहरु स्वतस्फुर्तरुपमा आउनुपर्छ भन्ने हाम्रो अपिल छ,’उनले भने । सेवक अभियानका अध्यक्ष राजिव हलवाईले धरानका सामाजिक संघसंस्थाहरुसँग समन्वय भइरहेको बताएका छन् । स्कुल, प्याब्सन तथा एनप्याब्सनहरुसँग पनि समन्वय गरेर सरसफाई अभियानलाई वृहत बनाउने उनले बताए ।