धरान: गए राती कोशी राजमार्गाको धरान इटहरी सडकखण्डमा ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान १० का ३० बर्षीय बिक्रम चेम्जोङ रहेको प्रहरीले जनाएको छ । शनिबार राती करिब ७ बजे इटहरी २ आँपगाछीमा दुर्घटना भएको थियो । धरानबाट इटहरीतर्फ जादै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले धरानतर्फ आउदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक चेम्जोङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा राती सवा ८ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा पछाडि सवार धरान १० का ३२ बर्षीय साहिल तुलाधर गम्भीर घाइते छन् । उनको पनि वीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक धरान ५ का ४३ बर्षीय अमर बहादुर राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका छन् । इटहरीस्थित प्रदेश ट्राफिक कार्यालयले भने मोटरसाइकलले गलत दिशामा आएर ट्रकलाई ठक्कर दिएको जनाएको छ । उक्त कार्यालयले दैनिक दुर्घटनाबारे सञ्चारकर्मीलाई पठाएको जानकारीमा मोटरसाइकलले नै गलत दिशामा आएर ट्रकलाई ठक्कर दिएको उल्लेख छ ।
यसैगरि, सुनसरीको बराहक्षेत्र नगरपालिका १ रानीखोलामा पनि मोटरसाइकल दुर्घटनाना हुँदा पछाडि सवार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्याल्य चतराका अनुसार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा कानेपोखरी गाउँपालिका १ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको हो । उनी मोटरसाइकलमा पछाडि सवार थिए ।
चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १ ०२-०४१ प ४९७१ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । घाईते भएका याख्खाको बिराट नर्सिङ होममा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । मोटरसाइकल चालक मोरंगको कानेपोखरी गाउँपालिका १ घर भई हाल दंगा नियन्त्रण प्रहरी गण दुहबीमा दरबन्दी भएपनि इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत २५ बर्षीय प्रदिप राई थिए । उनको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।