धरान: विजयपुर हस्पिटल र मृतक पक्षबीच सहमति भएपछि इटहरीकी दीपा राईको मृत्यु भएको ४ दिनपछि आज शवको पोष्टमार्टम भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा मृतक राईको शवको आज पोष्टमार्टम भएको हो । पोष्टमार्टम भइसकेको र उनको अन्तिम दाह सँस्कार गर्ने तयारी भइरहेको मृतक पक्षका के.के.राईले जानकारी दिए । उनले भने,‘पोष्टमार्टम भइसक्यो, अब तरहरा पानीपियामा अन्त्येष्टी हुन्छ ।’ राईको शवलाई जातीय सँस्कार अनुसार पानीपिया क्षेत्रमा गाडिनेछ ।
मृतक राईलाई न्याय दिलाउनुपर्ने भन्दै हिजो मृतक पक्षले हस्पिटल अघि सडकमा दिनभर जसो धर्ना दिएका थिए । उनीहरुले दिउँसो करिब १ बजेदेखि ५ बजेसम्म पुतलीलाइन सडक अवरुद्ध पारेका थिए । हस्पिटल प्रशासन र मृतक पक्षबीच हिजो नै समझदारी बनेको थियो । उक्त समझदारीलाई आज अन्तिम रुप दिइएको केके राईले जानकारी दिए । आज इटहरी वडा नं २० का अध्यक्ष मणीराम श्रेष्ठ, किरात राई यायोक्खाका प्रतिनिधि, मृतकको परिवारका सदस्यहरुको उपस्थितिमा सहमति भएको हो । तर, सहमति लिखित भने नगरिएको राईले जानकारी दिए ।
सहमति अनुसार मृतक राईको १५ महिनाको छोरीलाई स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी हस्पिटलले लिनेछ भने हस्पिटल रहेसम्म स्वास्थ्य उपचार पनि दिनेछ । मृतकका श्रीमान्ले अप्रेसन गर्ने डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिसकेको कारण सहमति लिखित नभएको हो । हस्पिटल सञ्चालकले मानवीयता पक्षलाई हेरेर छोरीको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने सहमति जनाएको बताइएको छ ।
धरान १०, पुतलीलाइनस्थित हस्पिटलमा सोमबार पित्तथैलीमा भएको पत्थरीको अप्रेसन भएको थियो । तर, अप्रेसन पछि उनको शरीरभित्र निरन्तर रक्तस्राव भएपछि डाक्टर दासले वीपी प्रतिष्ठानमा रिफर गरेका थिए । प्रतिष्ठानमा उनको अप्रेसन गर्न नपाई मृत्यु भएपछि श्रीमान राजेन्द्र राईले डाक्टरले अप्रेसनमा लापरवाही गरेको र अन्तिम समयमा मात्र रिफर गरेको भन्दै डाक्टरविरुद्ध कारबाही र क्षतिपूर्तिको माग राख्दै धरान प्रहरीमा जाहेरी दिएका छन् ।