धरान: विगत ६ दिनदेखि बन्द रहेको धरानको ५ नम्बर वडा कार्यालय आज पनि खुलेन ।

वडा कार्यालय नखुल्दा वडाका सेवाग्राही मारमा परेका छन् । कर्मचारीहरु दिनभर कार्यालय समय प्रांगणमा बसेर समय कटाउन बाध्य छन् । कर्मचारीहरुका अनुसार आज दिनभर पनि १५, २० जना सेवाग्राहीहरु फर्किएका थिए । अधिकृतस्तरको कर्मचारी नहुँदा योजनाहरुको भुक्तानी फरफारक नभएको र योजनाहरुको सम्झौता पनि हुन नपाएको भन्दै वडाअध्यक्ष सन्तोष लिम्बु असन्तुष्ट छन् । उनले नै उपमहानगरपालिकालाई दबाब दिने उद्देश्यले वडा कार्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

वडा नं ५ का सचिव राम पौडेल सुब्बास्तरका मात्र कर्मचारी हुन् । त्यसैले उनलाई दैनिक प्रशासनिक अधिकार मात्र छ । धरान उपमहानगरले लेखा एवं आर्थिक कारोबारको अधिकार वडा कार्यालयलाई पनि दिइएकोले अधिकृतस्तरको वडा सचिव आवश्यक छ । उपमहानगरले वडा नं ६ का सचिव तुलसी आचार्यलाई नै वडा ५ को पनि आर्थिक प्रशासनको जिम्मेवारी दिएको छ । तर, उनले समय दिन नभ्याएपछि वडाअध्यक्ष रुष्ट छन् ।

धरानका मेयर तिलक राईले वडामा अधिकृतस्तरको सचिव पठाउने बिषयमा छलफल भइसकेकोले समस्या समाधान भएको बताए । ‘जनशक्ति अभावले सबै वडामा अधिकृतस्तरको सचिव पठाउन सकेका थिएनौं, वडा ५ र ६ मा एकै जनालाई जिम्मेवारी दिएका थियौं । उहाँले नभ्याउदा वडाको काम रोकियो भन्ने गुनासो अध्यक्षको थियो,’मेयर राईले भने,‘यो बिषयमा छलफल भएर समाधान भइसक्यौं, भोलीदेखि कार्यालय खुल्छ ।’ वडाअध्यक्ष लिम्बुसँग सम्पर्क गर्दा फोन उठाएनन् । वडाका सचिव राम पौडेलले भने अध्यक्ष लिम्बुले मोवाइल सम्पर्क गरेर भोली मंगलबारदेखि कार्यालय खोल्नु भन्ने निर्देशन दिएको बताए । ‘अध्यक्ष ज्यूको फोन आएको थियो, भोलीदेखि कार्यालय खुल्ने भएको छ,’उनले भने ।