इटहरी: कालो सुनकोरुपमा मानिने अलैंचीको ठगीमा संलग्न ४ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरेर पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्ला जन्तेढुङ्गगा गाउँपालिका घर भई हाल झापाको बिर्तामोड नगरपालिका ४ बस्दै आएका मात्रिका प्रसाद पोखरेल, दोलखा विगु ८ का दिपक कुमार घिमिरे नाम बताउने केशब दाहाल, सुनसरीको इटहरी ७ बस्ने सरोज बोहोरा र भोजपुर रामप्रसादराई गाउँपालिका ६ का कमल थापा रहेका छन् । पक्राउ परेका चारै जनालाई म्याद थप गरी अनुसन्धानको कार्य अगाडि बढाइएको इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । उनका अनुसार थप एक जनाको खोजी कार्य भईरहेकोछ ।

इटहरीका डिएसपी अर्जुन केसीका अनुसार उनीहरुले गत पुष ४ गते खोटाङ्गबाट सुनसरीतर्फ बिक्री गर्न ल्याएको ६ हजार केजी अलैंची ठगी गरेर बिक्री गरेको थियो । उक्त अचैंली करिब ३० लाख मुल्य बराबरको भएको प्रहरीले जनाएको छ । डिएसपी केसीका अनुसार खोटाङ्गका अलैंची ब्यापारी युवराज राई र रञ्जीत राईले बिक्री गर्न ल्याउँदै गरेको अलैची ठगी गरेर गोदामबाट उठाएर रातरात बिक्री गरेका थिए ।

पुष ४ गते ल्याएको अलैंची गोदामसम्म ल्याउँदा रात परेको थियो । भोली पल्ट बैंक खुलेपछि पैसा दिने आश्वासनमा ब्यापारीले अलैंची गोदाममा छोडेका थिए । ‘भोलीपल्ट गोदाममा पुग्दा अलैंची राती नै बिक्री गरेको खुलेको थियो । पीडितले दिएको उजुरीको आधारमा खोजी गर्दा ठगीमा सलंग्न ५ जना मध्ये ४ जनालाई इटहरीका विभिन्न स्थानबाट प्रक्राउ गरिएको हो,’डिएसपी केसीले भने ।

ठगीका मुख्य योजनाकार पोखरेलले ठगी गर्ने मानिसहरु र ट्रक ब्यबस्थापन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनको साथबाट नक्कली नागरिकता बनाई इटहरी नबिल शाखाबाट नक्कली दिपक कुमार घिमिरे नाम राखी नयाँ खाता खोलेको पनि खुलेको छ । यस्तै, राष्ट्रबादी केन्द्र नेपाल केन्द्रिय सदस्य कार्ड, पत्रकार परिचय पत्र समेत प्रहरीले वरामद गरेको छ ।

दोलखा घर भएका केशव दाहालले अलैची राख्ने दोगामको ब्यबस्थापन गर्ने, पीडितहरुसगैं फोन सम्पर्क गरी अलैंची गोदामसम्म लाने र अलैंची तौलिने गरेको खुलेको छ । प्रहरीले उनको साथबाट संघीय समाजबादी फोरम नेपालको सदस्यता कार्ड र पत्रकार परिचय पत्र समेत वरामद गरेको छ । यसैगरि, इटहरी ७ का सरोज बोहोराले गोदामबाट अलैंची ट्रकमा लोड गर्ने र इटहरीको हलगडामा रहेको दुई गोदाममा गएर योजनाकारलाई पैसा दिने गरेको खुलेको छ । भोजपुरका कमल थापाले गोदाम खोज्ने, अलैंची काँटा गर्ने र टिपोट राख्ने गरेको खुलेको छ ।