धरान: सुनसरीबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित २ युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १ का २६ बर्षीय ज्याक्सन श्रेष्ठ र भोजपुरको हुतवागढी गाउँपालिका ९ का २७ बर्षीय अर्जुन खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले गए राती इनरुवा १ बलाहा नजिक इनरुवा दुहबी सडक खण्डमा पर्ने सहायक नहरबाट पक्राउ गरेको थियो । चेकिङको ब्यारिकेटलाई ठक्कर दिएर भागेपछि प्रहरीले एक राउण्ड गोली पनि प्रहार गरेको थियो । स्कारर्पियोले चतरा कोशी पुल नजिक ठक्कर दिएको ब्यारिकेटले लागेर एक प्रहरी जवान उदय राई सामान्य घाइते भएका छन् ।
उनीहरुलाई पक्राउ गर्दा बिहान ३ बजेर २४ मिनेट समय भएको थियो । सुनसरी हुँदै ठुलो मात्रामा गाँजा निकासी भइरहेको सुचना सुनसरी प्रहरीले पाएपछि चेकजाँच कडा पारेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार को १ च ९८५२ नम्बरको स्कार्पियो गाडीबाट गाँजासहित २ जनालाई पक्राउ गरिएको हो । खड्काको साथबाट नगद १ लाख ५४ हजार पनि वरामद भएको छ भने गाडीबाट २ थान खुकुरी पनि फेला परेको छ ।
प्लाष्टिक तथा बोराले प्याकिङ गरि कपडाको रोल जस्तो देखिने गरि ९ वटा बोरामा गाँजा वरामद भएको एसपी थापाले जानकारी दिए । गाँजा तस्करीको सुचना पाएपछि मंगलबार राती बराहक्षेत्रको चतरादेखि नै प्रहरीले स्कार्पियोलाई पिछा गरेको थियो । गाँजा तस्करीलाई पक्राउ गर्न एसपी थापा आफै खटिएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको टोलीले मध्यराती १ बजेदेखि नै चेकिङलाई कडाई गरेका थिए । त्यसक्रममा स्कारर्पियाले ब्यारिकेटर लडाएर भागेको थियो । त्यसपछि एसपी थापा आफै परिचालित भएर उक्त गाडीलाई बलाहा नजिकबाट नियन्त्रणमा लिन सफल भएको थियो ।
स्कारपियोले ब्यारिकेटलाई ठक्कर दिदै भागेको थियो भने को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाइकललाईसमेत ठक्कर दिएको थियो । सोही क्रममा प्रहरीले १ राउण्ड गोली प्रहार गरेको थियो । ठक्करले दुवै मोटरसाइकल पुर्णरुपमा क्षतिग्रस्त भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । एसपी थापाका अनुसार सुनसरी जिल्ला अदालतबाट आज ८ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।