धरान: करिब दुई सातादेखि इटहरी बजार क्षेत्रमा नेपाली सेनाको उपसेनानी(लेफ्टिनेन्ट) हुँ भन्दै सर्वसाधारणहरुलाई ठगी गर्ने नक्कली उपसेनानीसहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रेड मर्करीको व्यापारबाट फाइदा हुन्छ, मिलेर व्यापार गरौं भन्दै रकम असुल गरी ठगी गर्दै हिड्ने नक्कली लेफ्टिनेन्टसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नक्कली लेफ्टिनेन्ट बनेका पर्साको ठोरी गाउँपालिका ५ का २८ बर्षीय शिवकुमार कार्की र उनका सहयोगी सिन्धुलीको दुधौली नगरपालिका ८ का ३८ बर्षीय बसन्तकुमार खड्का रहेका छन् । कार्कीको कम्ब्याक्टमा भने नाम शिवजंग कार्की लेखिएको थियो । कार्कीलाई हिजो बुधबार र खड्कालाई आज बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख तथा एसपी कमल थापाले जानकारी दिए ।
प्रहरीका अनुसार दुई साताअघि इटहरी बजार क्षेत्रमा सेनाको उपसेनानी हुँ भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरी ठगी गर्दै हिडेको बिशेष सुचना ईलाका प्रहरी कार्यालय इटहरीले पाएको थियो । यो सुचना पाएको प्रहरीले निगरानी बढाउदै गर्दा बुधबार इटहरी ६ स्थित सामुदायिक अस्पताल अगाडि सेनाको पोशाकमा कार्की फेला परेको थियो । नेपाली सेनाको उप सेनानीको दज्र्यानी चिह्नसहितको कम्ब्याक्ट लगाएको व्यक्तिमाथि शंका लागेर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नक्कली सेना बनेर रेड मर्करीका काराबार गर्ने भन्दै रकम असुल गरिरहेको खुलेको थियो । उनको साथबाट ३३ हजार ४ सय ५० रुपैया र विभिन्न बैंकको एटिएम कार्ड र आइएमई गरेको रसिद पनि प्रहरीले वरामद गरेको जनाएको छ ।
यस्तै, उनले रेड मर्करीको व्यापार र यसको फाइदाको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको भेटिएको एसपी थापाले जानकारी दिए । उनको विरुद्धमा विभिन्न १० जना व्यक्तिले किटानी जाहेरी दिएको छ भने ठगी मुद्दा शिर्षकमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।