धरान: एक जना भारतीय पुर्व लाहुरे ठुलो परिमाणको गाँजासहित उदयपुरबाट पक्राउ परेका छन् ।

सिरहाको गोलबजारमा बस्दै आएका पुर्वभारतीय लाहुरे ४१ बर्षीय सन्तबहादुर मगरलाई १२१ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ । आज पत्रकार सम्मेलन गरेर उनलाई प्रहरीले सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहालका अनुसार स १ च ८०४ नम्बरको बोलेरो गाडीमा अदुवाको बोराभित्र लुकाएर गाँजा ल्याउने क्रममा कटारी ८ सानो दमारमा मगर पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कटारीका डिएसपी आफै खटिएको पनि एसपी दाहालले जानकारी दिए ।

gaja1

मगर आफै गाडी धनी हुन् भने अदुवा पनि उनकै भएको एसपी दाहालले बताए । उनलाई म्याद थप गरेर थप कारबाही अघि बढाइएको पनि एसपी दाहालले बताए । कारोबारमा अन्य पनि संलग्न रहेको र खोजी कार्य जारी राखेको उनको भनाई छ । ‘उदयपुरको उत्तर पश्चिम र पहाडी क्षेत्रमा गाँजाको खेती गर्ने चलन छ । त्यहाँ उत्पादन भएको गाँजाहरु उदयपुर प्रहरीले तार्गेट गरेर धेरै पटक अप्रेसन गरेका छौं,’एसपी दाहालले भने,‘हामीले यसै आर्थिक बर्षमा पटक पटक गरेर १ लाख ७१ हजार गाँजा बोट नष्ट गरेका छौ । यसअघि पनि यसै बर्ष ८४ केजी वरामद गर्यौं, यसै आर्थिक बर्षमा १३२, ३३ केजी गाँजा वरामद गर्न सफल भएका छौं ।’

एसपी दाहालका अनुसार गाउँघरमा ६ देखि ७ हजार प्रतिकेजीमा कारोबारीले गाँजा संकलन गर्ने गरेको छ । उक्त गाँजा सिराह, सप्तरी हुँदै भारतीय बजारमा पुग्छ । भारतीय बजारमा प्रतिकेजी ३० हजार भारुमा गाँजा बिक्री गर्ने गरेको एसपी दाहालले बताए । ‘त्यसहिसाबले यो गाँजा ३६ लाख ३० हजार बराबरको अनुमान लगाउन सकिन्छ,’एसपी दाहालले भने ।