धरान: धरान ६ पानवारीमा घरमै बसिरहेकी वृद्धाको सुनको गहना लुटपाट र हत्या प्रयासको घटनामा प्रहरीले कुनै क्लु फेला पार्न सकेको छैन ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत आफै पनि अनुसन्धानको लागि बिहिबार दिउँसो घटनास्थल पुगेका थिए । संघीय प्रहरी ईकाई कार्यालयबाट ट्रयाक डग लगेर अनुसन्धानलाई कसिलो बनाउने प्रयास गरेपनि सफल हुन सकेन । डिएसपी बस्नेतका अनुसार उक्त कुकुरले घटनास्थलबाट पश्चिमतर्फ आएर सेहरा पुल तरेपछि दक्षिणतर्फको सडकतर्पm लागेको थिया । त्यहाँबाट करिब १ किलोमिटर दक्षिण गएपछि पुनः दाहिनेतर्फ जंगलमा पसेर कुकुर अलमलिएको डिएसपी बस्नेतले बताए । ‘अहिलेसम्म केही क्लु भेटिएको छैन, तर हामीले अनुसन्धानलाई सबैपक्षबाट गरिरहेका छौं,’डिएसपी बस्नेतले भने ।

बिहिबार दिउँसो धरान ६ की ७५ बर्षीया वृद्धा जसमाया लिम्बुलाई घरमै चक्कुले घाँटी रेटेर हत्या प्रयास भएको थियो । साथै, उनको सुनको सिक्रि र कानको गहना लुटेर लगेको थियो । घरमा अन्य कोही पनि नभएको बेला भएको यो घटनामा कति जना संलग्न थिए भन्ने पनि खुलेको छैन । प्रहरीले घटनामा प्रयोग भएको छुरी बाख्राको खोरबाट वरामद गरेको थियो । घाइते वृद्धाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।