धरान: आज बिहानै कोशी राजमार्गस्थित धरान ४ आँपगाछीमा ब्रेक फेल भएर ट्रक पल्टिदा सहचालकको मृत्यु भएको छ ।
बिहान करिब ४ बजे भोजपुरबाट पुरानो ब्याट्री लिएर विराटनगरतर्फ जादै गरेको ना ६ ख ६४४१ नम्बरको ट्रक बे्रक फेल भएर पल्टिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्रक पल्टिएर भिरबाट खस्दा सहचालक ३० बर्षीय विशाल खड्का ट्रकले चेपिएर मृत्यु भएको अवस्थामा भेटिएको उनले बताए । ट्रकले च्यापिएको अवस्थामा रहेका मृतक खड्काको शवलाई धरान प्रहरीको टोली घटनास्थलमा पुगेर निकालेको डिएसपी बस्नेतले जनकारी दिए ।
डिएसपी बस्नेतका अनुसार ब्रेक फेल भएको ट्रक सडकबाट भिरतिर खसेको थियो । भिरमा रुखमा ट्रक अड्केको उनले जानकारी दिए । ‘ट्रक भिरबाट खसेर रुखमा अड्केको छ, शवलाई निकालेर वीपी हस्पिटल ल्याइसक्यौं,’डिएसपी बस्नेतले भने,‘ट्रकलाई निकाल्न क्रेन नै चाहिन्छ ।’ उनका अनुसार ट्रक चालक मोरंगको सुन्दरहरैचा ११ का २४ बर्षीय सनिल कुमार भगत ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।