मोरङ : गत माघ २५ गते परिक्षा दिन विद्यालय गएकी मोरङ सुन्दरहरैँचा ४ की १५ वर्षीया सविना दर्जी अहिलेसम्म घर पुगेकी छैनन् ।

छोरी खोजीका लागि गुहार माग्न विभिन्न निकाय पुगेका उनका बुवा सुवास र आमा अनिता छोरी फर्किन्छिन् की भन्दै आश गरेर बसिरहेका छन् । ‘सँधैजसो छोरी आउली कि भनेर कुरिरह्यौँ,’बुवा सुवासले भने,‘आजसम्म सात दिन भयो, कहिँकतै भेटिएकी छैन ।’ उनले विद्यालयका साथी, छिमेक र आफन्त सबैतिर खोजी गरिसकेको बताए । तर, छोरी जीउँदो भए नभएको खबर पाउन सकेका छैनन् ।

bepatta1

सविना घरबाट करिव ढेड किलोमिटरको दुरीमा रहेको पूर्वपश्चिम राजमार्ग छेउकै साजिलाल माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालयको आन्तरिक परिक्षा दिइरहेकी उनले उक्त दिन विद्यालय गेटसम्म पुगेर पुनः सडकतर्फ आएको सिसिटिभी फुटेजले देखाएको छ । तर, उनी त्यहाँबाट कता गइन् भन्ने बारे पत्ता लाग्न सकेको छैन । घरनजिकै रहेको गोकूलम रिसोर्टमा कार्यरत बुवा सुवास दर्जीले प्रहरीमा उजुरी दिएपनि अहिलेसम्म प्रहरी घरसम्म नआएको बताए ।

उनीहरुका ४ छोरी र १ छोरा छन् । कान्छी छोरी सविना पढाइमा मध्यमस्तरको विद्यार्थी विद्यालयले बताएको छ । मिलनसार स्वभावकी उनी मोवाइल नबोक्ने र कुनै पनि सामाजिक सञ्जालको प्रयोग नगर्ने आमा अनिताले बताइन् । ‘दिदिहरुसँग मिलेर बस्थि । पढाइमा उत्तिकै लगाव थियो,’आमा अनिताले भनिन्,‘एक साता भयो घरबाट हिंडेको । मरे बाँचेको खबर छैन । कतै अप्ठ्यारोमा होली, आउछेकी जस्तो लाग्छ ।’ परिवारले इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएका छन् । परिवारजनले जतिसक्दो चाँडो खोजिगरिदिन सरकारसमक्ष आग्रह गरेका छन् ।