कैलाली: गएको माघ २१ गते विद्यालयबाट घर फर्किदै गरेकी वैतडीकी १७ बर्षीया किसोरी भागरथीको बलात्कार र हत्यामा संलग्न पक्राउ परेका छन् ।

प्रहरीले दोगडाकेदार गाउँपालिका ७ की भागरथीको हत्या भएको दुई साताभित्रै आरोपीलाई पक्राउ गर्न सफल भएको हो । भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने छिमेकी युवा नै बलात्कार र हत्यामा संलग्न रहेको पुष्टि भइसकेको प्रहरीको भनाई छ । आरोपी युवाले भागरथीको बलात्कार र हत्या स्वीकार गरिसकेको पनि प्रहरीको दाबी छ । उनलाई आजै प्रहरीले सार्वजनिक गर्ने पनि जनाएको छ ।

माघ २१ गते भागरथी विद्यालयबाट घर फर्किएकी थिइनन् । उनको शव भोलीपल्ट जंगलको बाटोभन्दा करिब ७० मिटर तल झाँडीमा फेला परेको थियो । यो घटना निर्मला पन्तको जस्तै हुने भन्दै स्थानीयसँगै अधिकारवादीहरु आन्दोलित भएका थिए । निर्मला पन्तको पनि बलात्कार पछि हत्या भएको थियो । उनको आरोपी अझै पक्राउ परेका छैनन् । निर्मला पन्तको घटनामा प्रहरीले अझै पनि तीब्र आलोचना भइरहेको छ । तर, भागरथीको आरोपी भने १३ दिनभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । भागरथी हत्या घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुबेदी आफै एक साता बढी समयदेखि घटनास्थलमा गएर खटिइरहेका थिए । 

वदला लिन बलात्कार पछि हत्या गरेको स्वीकार

आरोपी युवाले वदला लिनको लागि भागरथीलाई बलात्कार र हत्या गरेको स्वीकारेको प्रहरी स्रोतको भनाई उदृत गर्दै विभिन्न सञ्चारमध्यमहरुले समाचार प्रकाशन गरेका छन् । भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको वयान प्रहरीम दिएको उल्लेख छ । बलात्कार पछि घाँटी थिचेर भागरथीको हत्या गरेको पक्राउ परेका युवाले स्वीकार गरेका छन् । भागरथी र आरोपीको परिवारबीच पुरानो रिसइबी रहेको र वदला लिन बलात्कार पछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।