विराटनगर: ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ ।
आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराएका हुन् । साथै, मुख्यमन्त्री राईले पीडितहरुलाई थप राहत प्याकेजको समेत घोषणा गरे । आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए । दोभान बस्तीमा पुगेका राईले डेरा भाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने पनि जानकारी दिए ।
आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिए । उनले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताए । प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री मुख्यमन्त्री राईले पीडित परिवारलाई हस्तान्तरण गरे ।
आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ ।मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगाम लगायत आगलागी बस्ती पुगेका थिए ।