मोरङः उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा लापरवाही गरेको आरोप लागेका प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला तानिएका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा रहेका पोखरेलको ठाउँमा जिल्लाबाट कुन्दन देव आएका छन् । शुक्रबारदेखि उर्लाबारी प्रहरीको इञ्चार्ज फेरिएको हो । रहस्यमयरुपमा मृत्यु भएका प्रविणको मिसिलमा फोटो अर्कैको राखेर आरोपीहरुको बचाउ गरेको भन्दै मृतकका बाहिनीलगायत आफन्तजनहरुले आन्दोलन चर्काएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयले डिएसपी मानवबहादुर राईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले अनुसन्धानको मिसिलमा फोटो अर्कै व्यक्तिको राखेको र त्यो मानवीय त्रुटी भएको जनाएको थियो । आन्दोलनपछि प्रहरीले यो घटनालाई गम्भीरतापुर्वक अघि बढायो भने विगतमा प्रमाण नपुगेको भन्दै आरोपीलाई छोड्ने आदेश दिएको सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
फरार रहेका थप २ जना पक्राउ
बास्तोला मृत्यु प्रकरणमा फरार रहेका थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी ६ का ३२ बर्षीय राजेश रनपहेली र झापा, गौरादह ९ का ३१ बर्षीय दिपेश पौडेल छन् । रनपहेली भैरवहाबाट पक्राउ परेका हुन् भने पौडेल झापाको दमकबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवका अनुसार पौडेललाई दमक प्रहरीले मोटरसाइकल चोरीको अभियोगमा समातेको थियो । हाल उनलाई मोटरसाइकल चोरीको मुद्दा चल्ने र पछि झापा प्रहरीले बास्तोला हत्या मुद्दाको लागि मोरंग प्रहरीलाई जिम्मा लगाउने देवले बताए । यस्तै, भैरहवाबाट पक्राउ परेका रनपहेलीलाई प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ल्याइसकेको पनि देवले जानकारी दिए ।
प्रविणको हत्या अभियोगमा ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रविणका साथी मोरङ रतुवामाई नगरपालिका १० का रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरी यसअघि नै पक्राउ परेका थिए । जिल्ला अदालतले मेहरमान र सुदीपलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो भने कुमार र रमेश धरौटीमा छुटेका थिए ।