विराटनगर: रोजगारी दिलाई दिने भन्दै सिन्धुपाल्चोकको गाउँबाट काठमाण्डौं, विराटनगर हुँदै भारत पुर्याएर महिलालाई बिक्री गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगरलाई पक्राउ गरिएको हो । उनीहरुले ललाईफकाई सिन्धुपाल्चोकबाट २ जना महिलालाई ल्याएर विराटनगर १६ स्थित दक्षिण गेटबाट भारतर्फ लैजान लागेका थिए । उनीहरुले ती महिलालाई भारतको एक होटलमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारी ल्याएको पनि प्रहरीको भनाई छ ।
मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार पक्राउ परेकाहरुले ती महिलालाई भारतमा लगेर बेचबिखन गर्ने उद्देश्यले गएको शुक्रबार विराटनगरबाट बोर्डर पार गराउन लागेका थिए । त्यही बेला पक्राउ परेका दुवै जनाविरुद्ध एक महिलाले उजुरी दिएपछि मानव बेचबिखन मुद्दामा आइतबार म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको डिएसपी राईले बताए ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले २३ र ३१ वर्षीया दुई महिलालाई सिमा क्षेत्रबाट उद्दारसमेत गरेको छ । घरको आर्थिक अवस्था कमजोर भएको कारण उनीहरु भारतमा रोजगारी गरेर कमाउने उद्देश्यले आएको पनि खुलेको छ । उनीहरुलाई विराटनगरमा फागुन २० गते नै ल्याइपुर्याएका थिए । एक रात महिलाहरुलाई होटलमा राखेर भोलीपल्ट बोर्डर कटाउन प्रयास गरेको प्रहरीको भनाई छ । घटनामा अन्य व्यक्तिहरु पनि संलग्नता हुनसक्ने भएकोले शुरु गरिएको प्रहरीले जनाएको छ ।